चितवनको रामपुरमा एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन हुने

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, ०९ : २५
चितवनको रामपुरमा एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन हुने

चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा कार्तिक ३ गतेदेखि एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ तीन दिनसम्म हुने बाख्रा विज्ञहरुको सम्मेलनको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलबाट हुनेछ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी दिएको थियो । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायत १७ देशका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान दिएका सफल बैज्ञानिक, अनुसन्धानदाता, उद्यमी, विद्यार्थी र किसानप्रतिनिधिहरुको सहभागीता रहने मूल आयोजक समिति अध्यक्ष प्राडा शारदा थपलियाले जानकारी दिनुभयो । 

सम्मेलनमा खाद्य तथा पोषणको स्रोतः बाख्रा उत्पादनको नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृंखला विकासः बाख्राको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी विधाहरुलाई समेटेर करिब ४ वटा विशेष कार्यपत्र, १० वटा आमन्त्रित, ६० वटा मौखि र ४३ वटा पोस्टरहरु गरी ११७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने प्राडा थपलियाले जानकारी दिनुभयो । 

आयोजक समितिका सदस्य सचिव सह प्राडा निराजन भट्टराईका अनुसार सम्मेलनको उद्घाटन सत्रमा पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा, इन्टर्नेशनल गोट एशोसिएसनका अध्यक्ष डा बेथ मिलर, कृषि तथा वन विज्ञान विद्यालयका रजिष्टार तथा सम्मेलनका संरक्षक प्राडा मनराज कोलाक्षपति र प्रदेश नं १ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा बिमलकुमार निर्मलका विशेष कार्यपत्रहरु प्रस्तुत हुने छन् ।  

सम्मेलनमा बाख्रामा लाग्ने पीपीआर रोग र त्यसको नियन्त्रण, बाख्रा पालन र भ्याक्सिन व्यवसायमा महिला सहभागीता जस्ता विषयमा विज्ञहरुबीच छलफल पनि हुने छ । सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको सम्मेलन गरिएको कृषि विश्वविद्यालय रामपुरले जनाएको छ । 

२०१८ अनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात् १ करोड २८ लाख रहेको छ । विश्वमा करिब ३५१ प्रजातिका बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् भने नेपालमा ४ प्रजातिका रैथाने बाख्रा पाइन्छन् । 

नेपालमा बोयर जातको बाख्रालाई व्यवसायिक रुपमा पाल्ने अभियान चलेको छ । यसबाहेक खरी, जमुनापारी, तराई बाख्रा पनि नेपालमा बढी मात्रामा पालिएको पाइन्छ । बोयर बाख्रामा बढी फाइदा हुने भएकोले पछिल्लो समय व्यवसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले यसअघि सन् २०१७ मा भैंसी र सन् २०१८ मा पोल्ट्री विज्ञ सम्मेलन आयोजना गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस