विप्लवलाई नै खोज्न मध्यरातमा जंगल पुगेको थियो प्रहरी

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १४ : २६
विप्लवलाई नै खोज्न मध्यरातमा जंगल पुगेको थियो प्रहरी

काठमाडौं । प्रहरीले दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड इञ्जार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित २१ जनालाई पक्राउ गरेको छ । चन्द विप्लवका सहोदर दाइसमेत हुन् । विप्लव समूहको राप्ती ब्युरोको बैठक चलिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

व्युरोको बैठक राजपुर गाउँपालिका–४ स्थित मरेठा जंगलमा चलिरहेको थियो । मरेठामा घना जंगल छ । निकै विकट रहेको जंगलमा राति बैठक सुरु भएको थियो । बैठकबाट राप्ती व्युरो इन्चार्ज केन्द्रीय सदस्य केशबहादुर बाठा समेत पक्राउ परेका छन् । पक्राउ परेकाहरु सबै राप्ती ब्युरोकै सदस्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

गोप्य बैठकको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली परिचालन भएको थियो । 

एक प्रहरी अधिकारीका अनुसार  विप्लव नै राप्ती व्युरोको बैठकमा पुग्ने सूचना आएको थियो । प्रतिबन्धित समूहका नेता विप्लवबारे सूचना आएपछि प्रहरी टोलीले आन्तरिक रुपमा अतिगोप्य रणनीति बनाएको थियो ।

उच्च प्रहरी अधिकारीका अनुसार विप्लव दाङ आसपासकै जिल्लामा छन् भन्ने सूचना लगातार आइरहेको थियो । त्यसैले प्रहरीले उच्च निगरानी सुरु गरेको थियो। बुधबार राति पनि विप्लव नै छन् कि भन्नेसम्मको सूचना पाएर अति गोप्य तरिकाले मध्यरातमा जंगल गएको थियो प्रहरी।

राप्ती व्युरो बैठकमा विप्लव आफैंले प्रशिक्षण र निर्देशन दिने तय भएको विप्लव समूहको उपल्लो तहका एक नेताले बताए । त्यसकै लागि नै जंगलमा मध्यरातमा बैठक बोलाइएको उनको भनाइ छ । व्युरो विप्लव समूहको बलियो सांगठनिक संरचना हो । प्रायः कमाण्ड र व्युरोको बैठकमा विप्लव आफैं सहभागी हुँदै आएका छन् । 

दुई घण्टा पैदल हिँडेर प्रहरी टोली छुट्टाछुट्टै स्थानबाट बैठक बसिरहेको जंगलमा पुगेको थियो । प्रहरी स्रोतले भन्यो, ‘चारैतिरबाट बैठकस्थल घेरेर पक्राउ गर्यौं । त्यस क्रममा केही व्यक्ति भाग्नसमेत सफल भए । घटनास्थलबाट केही हतियारसमेत बरामद गरेका छौं ।’

प्रहरीले विप्लवलाई खोज्न गोप्य टोली नै परिचालन गरेको छ । तर, विप्लव उच्च सुरक्षाका साथ गोप्य स्थानमा बस्दै आएको नेकपा निकट नेताहरु बताउँछन् । बुधबार विप्लव पक्राउ नपरे पनि राप्ती व्युरोको पूरै टोली पक्राउ परेको छ । यसले विप्लव समूहलाई ठूलो धक्का दिएको बताइन्छ । एकैपटक २१ जना उच्चस्तरका नेता पक्राउ परेको विप्लव समूहको यो पहिलो घटना हो ।
 

प्रतिक्रिया दिनुहोस