नेकपाको चियापानमा नेम्वाङलाई सकस

भीआईपी नदेखेपछि एउटा मञ्च छोडेर सुटुक्कै अर्काे मच्चमा

विहीबार, ३० असोज २०७६, ०८ : ४६
नेकपाको चियापानमा नेम्वाङलाई सकस

काठमाडौं । पूर्वसभामुख सुवास नेम्वाङ आफूलाई पार्टीका सचिवालय सदस्यभन्दा पनि कहिलेकाहीं वरिष्ठ ठान्छन् । प्रधानमन्त्री केपी ओली समूहका नेता नेम्वाङलाई हिजो नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा शीर्ष नेताहरुको छेउमै बस्नका लागि सकस परेको छ ।

उनी कहिले कता त कहिले कता दगुरीरहेका थिए । चियापान कार्यक्रममा शीर्ष नेताहरुले दुई वटा मञ्च प्रयोग गरेका थिए । पहिलो मञ्च थियो, सर्वसाधारणबाट शुभकामना लिने र दोश्रो भीआइपीहरुबाट शुभकामना लिने ।

पहिलो मञ्च कार्यक्रम शुरुवातीका चरणमा शीर्ष नेताले प्रयोग गरेका थिए । त्यहींबाट पार्टीका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गरेका थिए । सर्वसाधारणबाट शुभकामना आदान प्रदान गर्ने मञ्च पनि त्यही थियो । मध्यान्ह १२ देखि ३ बजेसम्मलाइ पहिलो मञ्च प्रयोग भएको थियो ।

दोश्रो मञ्च चही निम्तालु अतिथी भिआइपी आएपछि प्रयोग गर्नका लागि बनाइएको थियो । त्यही दुईवटा मञ्चका कारण नेम्वाङलाई भने बेलाबेला आपत पारेको थियो ।

उनी कहिले कता हुन्थे त कहिले कता । पहिलो मञ्चमा लहरै १०÷११ ओटा कुर्शी राखिएका थिए । चियापान शुरुवात गर्दै गर्दा सचिवालयका ९ जनै नेताहरु मञ्चको लहरै अगाडि रहेको सिटमा बसेका थिए । ओली र प्रचण्डका बीचमा उनी एकपटक परेका थिए, बस्ने सिटमा । तर त्यो उनको धेरै बेर टिकेन । प्रधानमन्त्री पत्नी राधिका शाक्य मञ्चमा देखेपछि उनलाई असिन पसिन भयो । उनले सिट उनलाई छोड्नै पर्ने बाध्यता आइलाग्यो । उनले दायाँबायाँ हेरे । सबै वरिष्ठ नेता देखेपछि आफै रातोपिरो मुख लगाउँदै उठे । तर उनका लागि बस्ने सिट त्यहाँ व्यवस्थापन भएन । उनी सुटुक्क मञ्चको पछाडी पुगे । त्यही बेला एक जना नेताले उनका लागि पछाडिको एउटा सिट छोडिदिए । उनी त्यहीं पछाडी परे ।

यतिमात्र नेम्वाङले चियापनमा भोगेनन् । पार्टीका दुवै अध्यक्ष कार्यक्रमको सुरुवातमा सम्वोधन गरी बाहिरिए । प्रधानमन्त्री ओली भिआइपी आउने बेला आउने भन्दै निस्किए । प्रचण्ड चितवनको पार्टी चियापानमा जानुपर्ने भन्दै बाहिरिए ।

केही बेर पहिलो मञ्चबाट वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव विष्णु पौडेल लगायत नेताहरुले सर्वसाधारणलाई स्वागत गरिरहे । उनीहरुसँग कहिले उठेर त कहिले बसेर शुभकामना साटासाट गरिरहे ।

तर विस्तारै एकपछि अर्काे गर्दै मञ्चबाट नेकपाका शीर्ष नेताहरु गायव हुने र त्यसका ठाउँमा जुनियर केन्द्रीय सदस्यहरु थपिने क्रम बढिरह्यो । त्यही बेला मञ्चमा पार्टी स्थायी समितिसम्मका पनि कोही नेता देखिएनन । तर त्यही मेसोमा थिए नेम्वाङमात्रै अन्य केन्द्रीय सदस्यहरुसँग । शुरुमा उनले नेताहरु मञ्चमा रहे नरहेको भेउ नपाएका कारण फूर्तिलो साथ मञ्चमा शुभकामनाका लागि पुगिरहेका नेता कार्यकर्तासँग हार्दिकता साटिरहे । तर जब उनले मञ्चको लहरमा उभिएका नेताहरु तिर आँखा दौडाए, उनी कालो अनुहार लगाएर बसे । एकैचोटी स्वागतमा उभिएर हार्दिकता साटिरहेका नेम्वाङ थकित अनुहारमा मञ्चको सिटमा टुसुक्क बसे । दायाँबायाँ नियाले, अनि जुरुक्क उठेर मञ्चबाट बाहिरिए ।

उनको मनोभाव बुझेका नेता कार्यकर्ता भन्दैथिए,– नेम्वाङ सरलाई गाह्रो भयो, जुनियर नेतामात्रै रहेको मञ्चमा आफूमात्रै परे ।

मञ्च छोडेर बाहिरिँदा अर्काे भीआइपीलाई प्रयोग गर्ने मञ्च प्रयोगमा आउन थालिसकेको थियो । अन्य नेताहरु उतैका मञ्चमा पुगिसकेका थिए ।

नेम्वाङ पनि त्यसपछि उतै दौडिए । पहिलो मञ्चमा थकित देखिएका उनले अर्काे मञ्चको पहिलो लहरमै खाली सिट पाइहाले । त्यसपछि फेरि उनको फूर्ति चम्कियो । उनी भीआईपीका लागि स्वागतमा उठेरै हात मिलाउन लागि परिरहे ।

नेम्वाङको दिनभरका गतिविधि नियालीरहेका सर्वसाधारण  र कार्यकर्ता उनलाई व्याङग्य कस्दै भन्दैथे,– नेम्वाङको दिन नै आज खराब परेछ । बिचरा कहिले सिट छोडिदिनुपर्ने, कहिले जुनियर कार्यकर्तासँग बसेर नाक खुम्चाईरहनुपर्ने । आज बल्ल नेम्वाङलाई ठिक भएछ ।’

प्रतिक्रिया दिनुहोस