एनआरएनए मतदान विहान १० बजेबाट शुरु हुने

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, ०८ : २६
एनआरएनए मतदान विहान १० बजेबाट शुरु हुने

काठमाडौं । निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि विहीबार राती हुलदंगामा परिणत भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज बिहान १० बजेबाट शुरु हुने भएको छ । अघिल्लो दिन मतदान प्रक्रिया नै हुन नसकेपछि सम्मेलन पनि लम्बिएको छ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि हिजो राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको हायात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।

विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको भन्दै सहभागीहरु हुलदंगमा नै उत्रिएका थिए ।
हुलदंगाकै बीचमा कुर्सी नै तोडफोड हुन थालेपछि प्रहरीले दंगा नियन्त्रण गर्नुपर्ने अवस्था आएको थियो ।

सम्मेलनमा विधानविपरीत प्रतिनिधिहरुको घुसपैठ भएको भन्दै एक पक्षले उजुरी दिएका कारण मतदान रोकिएको बताइएको छ ।

अध्यक्षका लागि हालका उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस