विकास र समृद्धिको नयाँ युगमा नेपाल प्रवेश गर्दैछ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १३ : २२
विकास र समृद्धिको नयाँ युगमा नेपाल प्रवेश गर्दैछ : अध्यक्ष प्रचण्ड

File photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको नयाँ युगमा नेपाल प्रवेश गर्न लागेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउन सबै नेपालीले नयाँ संकल्प गर्नु पर्ने अध्यक्ष प्रचण्डले बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसले नेपाललाई समाजवादतर्फको यात्रामा अघि बढ्न हौसला मिलेको विचार व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीति टु प्लस वानलाई अघि बढाएर चीन, भारत र नेपालको विकासलाई गति दिन सकिने धारणा सुनाए ।

चियापानमा लड्डु र केरा
बडादसैं, तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा नेकपाले काठमाडौंको भृकुटीमण्डपमा चियापानको आयोजना गरेको हो । 
कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठ लगायत उपस्थित भएका छन् ।
चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो । १ सय २० जना कर्मचारी ब्यांकेटले खटाएको छ ।

प्रतिक्रिया दिनुहोस