नेकपाले थाल्यो उपचुनावको तयारी, उम्मेदवार सिफारिस गर्न कात्तिक १० गतेसम्मको समयसीमा

तीन जनाको नाम सिफारिस गर्न निर्देशन

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ११ : १६
नेकपाले थाल्यो उपचुनावको तयारी, उम्मेदवार सिफारिस गर्न कात्तिक १० गतेसम्मको समयसीमा

काठमाडौं । सत्तारुढ दल नेकपाले प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचविालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार केन्द्रले, उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धित प्रदेश कमिटिले र वडाको उम्मेदवारको चयन सम्बन्धित जिल्ला कमिटिले चयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका उम्मेदवारको नाम केन्द्रमा कात्तिक १० गतेभित्र सिफारिस गर्न समेत नेकपाले सम्बन्धित प्रदेश कमिटिलाई निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नाम सिफारिस गर्दा सम्बन्धित निर्वाचन क्षेत्र कमिटि र जिल्ला कमिटिसँगको परामर्शका आधारमा प्रदेश कमिटिले तीन जनासम्म सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न सचिवालयले निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका सवालमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटि र जिल्ला कमिटिसँगको परामर्शका आधारमा प्रदेश कमिटिले ३ जनासम्मको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिइएको छ, सिफारिस भई आएका नाममा अन्तिम निर्णय केन्द्रले लिनेछ ।’

प्रदेश कमिटि नभएको स्थानमा भने जिल्ला कमिटिको सिफारिसमा प्रदेशले निर्णय लिने पनि उनले बताए । मंसिर १४ मा सरकारले रिक्त स्थानमा उपचुनाव गराउन लागेको छ । प्रतिनिधीसभामा कास्की २ र प्रदेश सभाका ३ स्थानमा चुनाव हुदैछ । त्यस्तै स्थानिय स्तरमा पनि झण्डै ५० स्थानमा उपचुनाव हुदैछ ।

स्थानिय तहको उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरका लागि भने सम्बन्धित गाउँ, नगर कमिटिको सिफारिसका आधारमा प्रदेश कमिटिले उम्मेदवार चयनको निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।

वडाका उम्मेदावरका हकमा भने वडा कमिटि र गाउँ कमिटिको परामर्शका आधारमा जिल्ला कमिटिले उम्मेदवार चयनको अन्तिम निर्णय लिने पनि उनले बताए ।

संगठन विभागमा तीन नेता थपिए

सचिवालय बैठकले संगठन विभागमा तीन जना नेतालाई सदस्यका रुपमा थप गरेको छ । विभाग प्रमुखमा यस अगाडि नै नेता वामदेव गौतम र उपप्रमुखमा जर्नादन शर्मा थिए । अहिले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यका रुपमा थप गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको प्रवक्ता श्रेष्ठले वताए । विभागमा प्रमुख, उपप्रमुख सहित बढीमा ३५ जनासम्म सदस्य रहन पाउने पार्टी नियमावलीको ब्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस