नेकपाको सचिवालय बैठक बस्दै, चियापान पनि आजै

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ०७ : ४८
नेकपाको सचिवालय बैठक बस्दै, चियापान पनि आजै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बठक आज बस्दैछ । अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

आजै उसले पार्टीको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा चाडपर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना पनि गर्दैछ ।

सचिवालय बैठकले पार्टीले अब गर्नुपर्ने कामको एजेण्डामा केन्द्रीत रहेर आवश्यक निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठकको तयारीका लागि हिजो सचिवालयका सदस्यहरुले बालुवाटारमै अनौपचारिक छलफल गरेका थिए । 

छलफलका क्रममा पार्टीको एकीकरणका बाँकी कामहरुको टुंगो लगाउनेदेखि आगामी उपचुनावका उम्मेद्वार छनौटदेखि चुनावी तयारी, सभामुख चयनदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्मका एजेण्डामा छलफल हुदैछन् ।
प्रवक्ता श्रेष्ठले भने, –‘मोटामोटी पार्टीले गर्नुपर्ने कामको रोष्टर हिजो अनौपचारिक छलफल गरेर तयार पारिएको छ, अब आज औपचारिक बैठक बसेर त्यसैलाई निर्णय गर्दै जाने हुन्छ ।’ 

पार्टीले आजै आयोजना गरेको चियापान कार्यक्रमको पूर्वसन्ध्यामा सचिवालय बैठक राखेर नेकपाले पार्टी नेता कार्यकर्तालाई एक खालको सन्देश दिन पनि खोजेको नेताहरुले बताएका छन् ।

अब एकताको काम सकिएको, मंसिर १४ मा हुन लागेको चुनावमा पार्टीले जित्ने सन्देश दिन र सभामुख चयन प्रक्रियामा पार्टीले उम्मेद्वार छनौट गर्ने सम्मका सन्देश नेकपाले चियापान कार्यक्रमको पूर्वसन्ध्यामा दिन खोजेको छ ।

त्यसो त नेकपाले छिट्टै पार्टीको स्थायी समिति र केन्द्रीय समितिको बैठक राखेर जान खोजेको सन्देश पनि दिन खोजेको छ ।

चियापानमा एक लाखलाई निम्तो
नेकपाले आज मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गर्न लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चियापानमा दिउँसो ३ बजेसम्म पार्टी नेता कार्यकर्ता र त्यसपछिको दुई घण्टा अन्य राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधीहरुलाई समय छुट्टाइएको महासचिव विष्णु पौडेलले बताए ।

पौडेलले भने, –‘शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अपरान्ह १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ । अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।’

नेपाली समाजमा सदियौंदेखि चलिआएका चाडपर्वहरूले समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक  तथा बहुसाँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्दै आएका छन् । नेपाली–नेपाली बीचको आपसी एकता, सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतालाई प्रवद्र्धन गरिरहेका छन् । त्यसैको अवसर पारेर नेकपाले सदाझैं यस बर्ष पनि बडादसैँ, तिहार, नेपाल संवत्– ११४०, छठलगायत समस्त नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको महासचिव पौडेलको भनाई छ ।

गत वर्ष पनि नेकपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।  उनले चियापानका लागि झण्डै एक लाख बढीलाई निम्तो पठाएको बताए । निम्तो नपाउनेलाई पनि उनले सहभागी हुन आग्रह गरिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस