सी फर्केलगत्तै नेकपा नेताहरुको चीन दौडाह तिव्र

नेकपाका तीन टोली अहिले चीनका विभिन्न शहरमै, उपप्रधानमन्त्री इश्वर पोखरेलको अर्काे टोली पनि विहीबार उड्ने तयारीमा

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, ०९ : ३८
सी फर्केलगत्तै नेकपा नेताहरुको चीन दौडाह तिव्र

तस्विर : चीन भ्रमणमा जानु अगाडि नेकपाका नेताहरु सोमबार त्रिभुवन विमानस्थलमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेर फर्र्केलगत्तै नेकपाका नेताहरु एकपछि अर्काे गर्दै चीन भ्रमणमा निस्केका छन् ।

सी फर्केको भोलिपल्टै नेकपाका नेताहरुको तीन टोली चीनको विभिन्न शहरमा आयोजना हुने चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागिसकेका छन् भने फेरी अर्काे एक टोली पनि चीन जाने तयारीमा छ ।

सोमबार नेकपाका  स्थायी समिति सदस्य डा बेदुराम भुषाल, देवेन्द्र पौडेल र कार्यालय सचिव इश्वरी रिजाल गोन्जाओ पुगेका छन् ।

उनीहरु गोन्जाओबाट बेइजिङ पुग्नेछन् । चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको सात देशका नेताहरु सम्मेलित बैठकमा भाग लिन उनीहरु चीन प्रस्थान गरेका हुन् ।

अर्काे टोली पनि सोमबार मात्रै चिन गएको छ । प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल पनि चिनको छेन्दुतर्फ लागेका छन् । विआरआई सम्वन्धि कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ लागेका हुन् । पछिल्लोचरणमा चीन धेरै धाउने नेतामा पोखरेल पनि पर्छन् । उनी दुई महिना अगाडि मात्रै पनि चीन भ्रमण गरेर फर्केका थिए ।

नेताहरु चीनमै रहेकै बेला विहीबार सरकारकै उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेल पनि चीन प्रस्थान गर्न लागेका छन् ।  

उनी करिब ६० जनाको टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । उनी अन्र्तराष्ट्रिय मिलिटरी स्पोर्ट्स काउन्सिलले कात्तिक १ देखि १० सम्म चीनको उहान प्रान्तमा गर्ने सातौं अन्तर्रािष्ट्रय विश्व मिलिटरी गेम्स–२०१९ को उद्घाटन समारोहमा सहभागी हुँदैछन् ।

त्यस्तै उनले चीनको राजधानी बेइजिङमा हुन लागेको सुरक्षासम्बन्धी ‘नवौं सिङ साङ फोरम’ मा भाग लिनेछन् ।

उता नेकपाकै अर्का केन्द्रीय सदस्य सुरेश आलेमगर पनि तिब्बत तिर लागेका छन् । उनी पनि सोमबार एक कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल पछिल्लो पटक चीन तिर ढल्किएको विश्लेषण भइरहेका बेला एकपछि अर्काे गर्दै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको एक अर्काे देशको बाक्लो भ्रमण भइरहेको छ । यसले नेपाल र चीन बीचका कम्युनिष्ट पार्टीका बीचको सम्बन्ध थप उचाईमा पुगेको विश्लेषण राजनीतिक वत्तमा भईरहेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेलामा अब नेपाल चीन सम्बन्ध पहिले जस्तो असल छिमेकीको रुपमा मात्र होइन, रणनीतिक साझेदारको रुपमा रहने उद्घोष भएसँगै झन यस्ता भेटघाट बाक्लिएको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस