उपसभामुखलाई मन्त्री बनाउने तयारी

मन्त्री खानुस् : प्रधानमन्त्री, पद साटे जस्तो हुन्छ बरु त्यसै छोड्छु मन्त्री खान्न : उपसभामुख

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, ०८ : २७
उपसभामुखलाई मन्त्री बनाउने तयारी

 काठमाडौं । सत्तारुढ दल नेकपाले उपसभामुख शिवमाया तुम्वहाम्फेलाई पदबाट राजीनामा गराउने भएको छ । आइतबार प्रधानमन्त्री केपी ओलीले उपसभामुख तुम्वहाम्फेलाई आफ्नै निवास बालुवाटारमा बोलाई सभामुख चयन प्रक्रियामा सहयोग गर्न उपसभामुख बाट राजीनामा दिन सुझाएका हुन् ।

सभामुख कृष्णबहादुर महरा महिला वलत्कारको अभियोगमा परेपछि सभामुख पद अहिले रिक्त छ । सभामुख र उपसभामुख एकै दलबाट हुन नपाउने संविधानको व्यवस्थाका कारण नेकपाले तुम्वहाम्फेलाई राजीनामाका लागि सुझाएको हो ।

यस अगाडि सभामुख–उपसभामुख चयन प्रक्रिया अगाडि बढ्दा तत्कालिन माओवादी केन्द्र र एमालेका बीचमा पार्टी एकता भएको थिएन ।

जसका कारण पनि महरा सभामुख र तुम्वहाम्फे उपसभामुख बनेकी थिइन् । तर अहिले यी दुवै पार्टी एउटै भईसकेको छ ।

नेकपाले सभामुख पद लिनका लागि उपसभामुखलाई राजीनामा गराउनै पर्ने हुन्छ । सभामुखलाई सम्वोधन गरेर उपसभामुखले राजीनामा दिने र संसदको जेष्ठ सदस्यको अध्यक्षतमा बस्ने संसद बैठकमा उपसभामुखको राजीनामा सुनाएर नयाँ प्रक्रिया अगाडी बढाउन सकिने कानुन विदहरुले बताइरहेका छन् ।

त्यही आधारमा पनि नेकपाले उपसभामुखलाई राजीनामा गराउन चाहेको हो । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको पनि सल्लाहमा तुम्वहाम्फेलाई पदबाट राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेका हुन् ।

आइतबारको भेटमा ओलीले उनलाई राजीनामा दिएर मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर तुम्वहाम्फे उपसभामुखबाट राजीनामा दिएर सभामुख बन्ने योजनमा छिन् । त्यसका लागि उनले पूर्वसभामुख सुवास नेम्वाङमार्फत लविङको प्रयास गरेकी छिन् ।

नेम्वाङ आफै सभामुख बन्न चाहे छोडिदिने नत्र आफैलाई बनाउनु पर्ने अडानमा तुम्वहाम्फे छिन् । महराको गल्तीमा आफूले त्याग गर्नुपर्ने नभएको भन्दै उनले आफूलाई नै सभामुख बनाउन लविङ थालेकी हुन् । तर नेकपाका दुई अध्यक्ष अहिले उनलाई सभामुख बनाउने पक्षमा छैनन् ।

उनलाई मन्त्री बनाएर राजीनामा गराउने र सभामुखमा अन्य नेतालाई पठाउने योजनामा ओली प्रचण्ड देखिन्छन् ।

आइतबार ओलीले मन्त्री बन्न राखेको प्रस्तावमा उनले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्दा पद साटेको जस्तो हुने भन्दै घुमाउरो शैलीमा सभामुख नै बरु बनाउन आग्रह गरेकी थिइन् ।

‘उपसभामुखवाट राजीनामा दिएर मन्त्री बन्ने कुरा पद साटे जस्तो हुन्छ, बरु म त्यसै छोडिदिन्छु मन्त्री बन्दिन’ प्रधानमन्त्रीसँग उपसभामुखले राखेको भनाई उदृृत गर्दै उनी निकट एक नेताले भने ।

तर ओलीले उनलाई मन्त्रिमण्डल हेरफेर गरेर खानेपानी मन्त्री बनाउन चाहेको बालुवाटार स्रोतल बतायो । ‘मन्त्रीमण्डल हेरफेरको सोचमा प्रधानमन्त्री हुनुहुन्छ, केही मन्त्री नयाँ आउनुहुन्छ, केही हटनुहुन्छ, केहीको जिम्मेवारी हेरफेर हुनसक्छ, त्यही क्रममा उपसभामुख मन्त्री बन्नुहुन्छ’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने ।

प्रतिक्रिया दिनुहोस