लालपुर्जामा सुकुम्बासीको खोई नाम ?

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १७ : ४९
लालपुर्जामा सुकुम्बासीको खोई नाम ?

चितवन । नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्कीले हालसम्म कुनै पनि सुकम्बासीको नाम लालपुर्जामा नरहेको बताएका छन् । 

नेपाल बसोबास बस्ती संरक्षण समाज इकाइ कमिटी दरबार चोकद्वारा आयोजित आउँदै गरेको विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव कार्कीले सरकारले ल्याएको आठौँ संशोधन भूमि विधेयक त्रुटिपूर्ण रहेको नवौं संशोधन विधेयक ल्याउनुपर्ने बताए ।

उनले प्रश्न गर्दै भने, ‘आठौँ संशोधनमा धेरै कमजोरी छ, त्यहाँको पुस्तौनी शव्द हटाउनुपर्छ, वन क्षेत्रभित्र, खोला किनारमा, धार्मिक आस्थाको ठाउँमा पुर्जा नदिने भनिएको छ, ती ठाउँ बाहेक अन्त कहाँ छन् सुुकुमबासी ?

उनले अबको काम लालपुर्जामा सुकुमबासीको नाम हुनुपर्ने बताएका छन् । कार्यक्रममा उनले भने, ‘सरकारको विधेयक महलमा बस्नेलाई मात्र भयो, झुपडीमा बस्नेलाई भएन, सकुम्बासीलाई भएन, त्यसैले नवौँ संशोधन विधेयक ल्याउन हामी भनिरहेका छौँ ।’

उनले २३ वटा सुकुम्बासी आयोग बने पनि २३ जना सुकुम्वासीले पनि पुर्जा पाउन नसकेको बताए । सपना राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं १ का संयोजक राम विष्ट, प्रदेश नं ३ का संयोजक तथा जिल्ला अध्यक्ष छविलाल देवकोटा, कालिका नगरपालिका संयोजक भोजराज थपलिया, रत्ननगर नगरपालिका संयोजक दिलबहादुर तामाङ, जलदेवी सामुदायिक वनका उपाध्यक्ष माधवप्रसाद देवकोटालगायतले मन्तव्य दिएका थिए । उनीहरुले अव्यवस्थित रुपमा बसोबास बस्दै आएका सुकुम्बासीहरुले लालपुर्जा पाउनुपर्ने बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस