अनियन्त्रित भई माइक्रो बस रुखमा ठोक्किँदा चौध जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १७ : १५
अनियन्त्रित भई माइक्रो बस रुखमा ठोक्किँदा चौध जना घाइते

सांकेतिक तस्बिर ।

चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ जलबिरेमा नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १३२१ नम्बरको माइक्रो बस अनियन्त्रित भई पिपलको रुखमा ठोक्किँदा माइक्रोमा सवार १४ जना यात्रु घाइते भएका छन् । 
मंगलबार बिहान ११ः४० बजे भएको त्यस दुर्घटनाका घाइतेमध्ये ९ जनाको पुरानो मेडिकल कलेज, ३ जनाका चितवन मेडिकल कलेज र २ जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
घाइते हुनेहरुमा भरतपुर महानगरपालिका १२ की २० वर्षीया सबिना तामाङ, अमरापुरी नगरपालिका १६ बस्ने १६ वर्षीया प्रीति पराजुली, सोही स्थानकी १९ वर्षीया दीक्षा पौडेल, भारत बिहारका ३० वर्षीय अजहर आलम, भरतपुर महानगरपालिका २२ की २० वर्षीया सुमी गुरुङ, धादिङ सल्यानटार गाउँपालिका २ बस्ने ३० वर्षीय वीरबहादुर कुमाल, सोही स्थानका ६० वर्षीय रामबहादुर कुमाल, गैँडाकोट नगरपालिका ५ का ३० वर्षीय जयलाल सुनार, भरतपुर महानगरपालिका १५ का २४ वर्षीय सन्तोष भुजेल रहेका छन् । 
गोरखा आरुघाटका २६ वर्षीया माया थापा मगर, उनकी छोरी १६ महिनाकी बालिका निर्जला थापा मगर, देवचुली १६ की २० वर्षीया दिपिका मगर, धनुषा ढल्केबर घर भई हाल नारायणी सामुदायिक अस्पतालमा कार्यरत डाक्टर राजेशकुमार महतो, गैँडाकोट नगरपालिका १० की २७ वर्षीया मीना गुरुङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । माईक्रो चालक अस्थायी प्रहरी पोष्ट सिमलतालको नियन्त्रणमा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस