सीको भ्रमण लगत्तै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीकोे विदेश उडान हुने

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, ०८ : २७
सीको भ्रमण लगत्तै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीकोे विदेश उडान हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण लगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुने भएको छ । चिनियाँ राष्ट्रपति सी असोज २७ मा नेपाल आउने करिव सम्भावना नजिक छ ।

औपचारिक रुपमा मिति नै घोषणा नभएपनि असोज अन्तिम साता नेपाल भ्रमण गराउने गरी नेपाल र चीन दुवैले राष्ट्रपति सीको भ्रमणको तयारी गरिरहेका छन् ।

यो बीचमा नेपालीहरुको महान् चाड वडा दशैं पनि पर्ने र उत्तरी छिमेकी मुलुकका २३ वर्ष पछिको नेपाल भ्रमण हुने भएकाले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले कात्तिक पहिलो सातापछि मात्र आफ्ना विदेश भ्रमणका कार्यक्रम तय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी जापान र प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान जाने गरी तयारी शुरु भएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै विदेश भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्रका एक कर्मचारीले बताए ।

उनका अनुसार, राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन कात्तिक ३ मा त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ ।

जापानी नयाँ सम्राट नारुहितोका राज्याभिषेक कार्यक्रम ५ कात्तिकमा हुनेछ  । त्यस्तै प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिनका लागि अजरबैजान जान लागेका हुन् ।

अजरबैजानमा कात्तिक ८ र ९ मा असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलन आयोजना हुँदैछ ।  कात्तिक ४ र ५ मा असंलग्न राष्ट्रहरूको परराष्ट्र सचिव स्तरीय बैठक बस्दै छ भने कात्तिक ६ र ७ मा परराष्ट्रमन्त्रीहरूको बैठक बस्दै छ  । सबै बैठकमा नेपालबाट सहभागिता रहने गरी परराष्ट्रले तयारी थालेको पनि ती कर्मचारीले बताए ।
ओली अजरवैजान जाने कुराको उनका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले पनि पुष्टि गरेका छन् ।

‘प्रधानमन्त्रीज्यू असंलग्न राष्ट्रहरूको सम्मेलनमा जाने तय भएको छ,’ डा. राजन भट्टराईले भने,–‘सम्मेलनपछि अजरबैजानले आगामी ३ वर्षका लागि असंलग्न राष्ट्रहरूको संगठनको अध्यक्षता लिनेछ ।’

प्रतिक्रिया दिनुहोस