काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

रासस

आइतबार, २२ भदौ २०७६, १२ : ४१
काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

फाईल फोटो

काठमाडौं । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ ।

तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । 

मृतककी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो ।

यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहनु भएको उहाँले जानकारी दिनुभयो ।उहाँको टेलिफोन लगत्तै शनिवार उनीहरूको मृत्युको  प्रमाणपत्र आएको र  सोमवार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको  र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताउनुभयो ।   

ग्रीन भिलेज क्याम्प विदेशी बस्ने भवन हो । ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उहाँकी श्रीमती लक्ष्मीदेवीले बताउनुभयो । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस