नेकपा चितवनबाट सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय

रासस

शुक्रबार, २० भदौ २०७६, १५ : ५४
नेकपा चितवनबाट सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्वएमाले र छ वडा पूर्वमाओवादीको भागमा परेको छ । यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्वएमाले र छ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्वमाओवादीको भागमा आठरआठ वडा परेका छन् ।
कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्वएमाले र पाँच पूर्वमाओवादीको भागमा परेको उहाँले जानकारी दिनुभयो । इच्छाकामनाका सात वडामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्वएमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ ।
१२५ सदस्यीय महानगर कमिटीमा पूर्वएमालेको भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिनुभयो । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्वएमाले र ३५ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्वएमाले र ४१ पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् । 
बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।
यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख) मा पूर्वएमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्वमाओवादी,२ (ख) मा पूर्व एमाले, ३ (क) मा पूर्व एमाले र ३ (ख) मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिनुभयो । भागबण्डासँगै ती पदहरुमा पूर्वएमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरुनै अध्यक्ष भएका छन् । 
सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस