विप्लवको पार्टीमा कार्यदिशा विवाद

नेताहरुनै कन्फ्युजमा : छामामार युद्ध की शहरी विद्रोह ?

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, ०९ : १७
विप्लवको पार्टीमा कार्यदिशा विवाद

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)को पार्टीमा कार्यदिशाको विवाद चर्केको छ । तत्कालिन माओवादीको नेतृत्व प्रचण्ड–बाबुरामले क्रान्तिमाथी धोका दिएको र किरणहरुले समेत क्रान्ति गर्न नसक्ने भन्दै विप्लवले २०७१ मंसिरदेखि आफ्नै नेतृत्वमा पार्टी बनाएर नयाँ ढंगले क्रान्ति अगाडी बढाउने बताएका थिए ।

त्यसबेला देखि नै विप्लवको प्रतिबन्धित पार्टी नेकपाले अबको नेपालको क्रान्ति एकीकृत जनक्रान्तिवाट मात्र सम्भव हुने भन्दै राजनीतिक लाइन बनाउन खोजेका थिए ।

तर पनि एकीकृत जनक्रान्तिकै विषयमा विप्लवको पार्टीमा अझै पनि बुझाईमा मतक्यैकता हुन सकेको छैन । पार्टीकै जिम्मेवार केन्द्रीय समितिका नेताहरु समेत एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको एकरुपताको बुझाईमा नभएको एक केन्द्रीय सदस्यले बताए ।

पार्टीले एकीकृत क्रान्तिको भन्दा पनि छापामार युद्धतिरको लाइन समात्न खोजेको भन्दै केन्द्रीय नेताहरुले नै पार्टीमा अहिले चर्काे वहस शुरु गर्न थालेको ति नेताले बताए ।

‘पार्टीको राजनीतिक लाइन के हो ? एकीकृत जनक्रान्ति की छापामार युद्धको नीति ? नेतृत्वले अझै गहिरो गरेर पार्टी नेतालाई नै समेत बुझाउन सकेको देखिदैन,’ उनले भने, –‘पार्टीको राजनीतिक लाइनमा प्रष्टता नआउँदासम्म नेता कार्यकर्ताले त्यसलाई पक्डिएर आन्दोलन अगाडी बढाउन सक्दैनन् । अहिले त्यसमा प्रष्टता छैन ।’

विगतमा विप्लवको पार्टीका पोलिटब्यूरो सदस्य रहेका र हाल सत्तारुढ दल नेकपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका नेता पदम राई एकीकृत जनक्रान्तिको मोडेल शहरी जनविद्रोह हो की छापामार युद्ध भन्नेमा विप्लवले पार्टीलाई बुझाउन नसकिरहेको बताउँछन् ।

विप्लव शहरी जनविद्रोहमा जोड गरिरहेका छन् । एकीकृत क्रान्तिको फौजी कार्यदिशामा उनले त्यसलाई ब्याख्या गर्न खोजिरहेका छन् । तर जनमुक्ति सेनाका तत्कालिन डिभिजन कमाण्डर समेत रहेका केन्द्रीय सदस्य उदयबहादुर चलाउने (दिपक) भने फेरि छापामार युद्धवाटै अगाडी बढ्नु पर्ने मत राखिरहेका छन् ।

पार्टीभित्र देखिएको यो अन्तर नेतृत्वले् प्रष्टाउन नसक्दा धेरै नेता कार्यकर्ताले अहिले विप्लवको पार्टी छोड्ने क्रम चलेको विप्लवका पार्टीका ति नेताले वताए ।

हालैमात्र उक्त पार्टीका एक नेता मोहन कार्की (जीवन्त) ले पनि पार्टीभित्र एकीकृत क्रान्तिको कार्यदिशालाई अहिले नबुझेर छापामार युद्धतिर कतिपय नेताहरुले धकेल्न खोजेको टिप्पणी गरेका थिए ।

‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ,’ उनले भनेका छन्,–‘पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।’

रक्षा, सन्तुलन र प्रत्याक्रमणकै चरणवाट एकीकृत जनक्रान्ति अगाडी बढ्ने र तयारी, थालनी र प्रयोग नै एकीकृत जनक्रान्तिको पनि फौजी राजनीतिक कार्यदिशा हुने विप्लव पार्टीका नेताहरुको ब्याख्या छ ।

प्रतिक्रिया दिनुहोस