दस घण्टापछि जापानका लागि उड्दैछ नेपाल एयरलाइन्सको जहाज

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, १६ : ४६
दस घण्टापछि जापानका लागि उड्दैछ नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ए ३३०–२०० जहाज काठमाडौं विमानस्थलबाट भदौ १२ गते बिहान २ बजेर ३० मिनेटमा जापानको ओशाकाका लागि उड्ने निश्चित भएको छ ।
काठमाडौंबाट ६ घण्टा ३० मिनेट लगातार उडेपछि जहाज ओशाका पुग्नेछ । वाइडबडी जहाजको यो पहिलो लामो दूरीको गन्तब्य हो । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् ।
साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

ओशाका पुरानै गन्तब्य 

नेपाल एयरलाइन्सले यसअघि पनि ओशाकामा उडान गरिसकेको छ । तर, त्यसबेला निगमको जहाज काठमाडौंबाट चीनको सांघाई हुँदै जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सको जहाज पहिलो पटक जापान पुगेको थियो ।

नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म ‘काठमाडौं–सांघाई–ओशाका’ रुटमा जहाज उडाएको थियो । निगमका व्यापार विभाग प्रमुख टंकनिधि दाहालका अनुसार विगतमा जापानमा निगमले एउटा पनि उडान रद्द गरेको थिएन ।

शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र थिए । ‘त्यस्तो बेला त हामीले सफल रुपमा सेवा दिन सकेका थियौं,’ निगमका कार्यकारी अध्यक्ष खरेल भन्छन्, ‘अहिले त जापानमा नेपाली र जापानी पर्यटककै कारण नेपाल एयरलाइन्सले पर्याप्त यात्रु पाउँछ ।’

साताको तीन उडान

काठमाडौं र ओशाकाबाट सातामा तीन उडानको तयारी निगमले गरेको छ । मंगलबार, बिहीबार र शनिबारका लागि नियमित उडानको तालिका राखिएको छ । दुबै मुलुकका नियामक निकायबाट अनुमति लिने कार्य सम्पन्न भइसकेको निगम, संचालन विभाग प्रमुख सिनियर क्याप्टेन दीपु ज्वार्चन बताउँछन् । ‘प्रक्रियागत तयारीका काम सकिएका छन्,’ उनले भने ।

जापान उडानमै खटिने गरी वाइडबडी जहाज चलाउने २५ जना पाइलट तयार पारिएको छ । त्यसमध्ये १० जना नेपाली र १५ जना विदेशी पाइलट हुन् । पाइलटका लागि जापानमा आवश्यक पर्ने प्रारम्भिक तहको जापानिज भाषा सिकाईको कार्यक्रमसमेत सम्पन्न भएको क्याप्टेन ज्वार्चन बताउँछन् । जापान उडानमा पाइलटहरुसहित कूल १२३ जना ‘क्याविन क्रु’ पालैपालो यात्रुको सेवामा खटिने भएका छन् ।

भाडा कति ?

बिभिन्न वायुसेवा कम्पनीले नेपाल–जापान दुईतर्फी भाडा १ लाखदेखि सवा १ लाख रुपैयाँ लिने गरेका छन् । निगमले भने सेप्टेम्बर महिनाभरसस्तो मूल्यमा जापानमा सेवा दिँदैछ । दुईतर्फी भाडा ७५ हजार रुपैयाँ तोकिएको छ । यो प्रवद्र्धनात्मक भाडा रहेको र केवल एक महिना मात्र यस्तो मूल्यमा उडान गर्न पाइने निगमको भनाई रहेको छ ।

यसबेला सबैभन्दा ठूलो चूनौति निगमले नियमित उडान गर्छ भनेर यात्रुलाई विश्वास दिलाउनु नै हुनेछ । त्यसपछि भने अग्रिम बुकिङ निकै राम्रो रहेको व्यापार विभाग प्रमुख प्रमुख टंकनिधि दाहालले जानकारी दिए । ‘अक्टोवरपछि बुकिङ पनि राम्रो छ’, उनले भने, ‘त्योभन्दा एक महिना अगाडि हामी सेवालाई कसरी विश्वसनीय बनाउने भन्नेमा केन्द्रित हुनेछौं ।’

जनवरीबाट टोकियो उडान

निगमलाई सहजै यात्रु प्राप्त हुने विमानस्थल भने जापानको टोकियोस्थित नारिता विमानस्थल हो । यहाँ भने निगमले अझै सेड्यूल उडानको अनुमति पाइसकेको छैन । निगमले दशैंको मुख पारेर यहाँ दुई वटा चार्टर्ड उडान हुँदैछ ।

दशैंमा निकै राम्रो अक्कुपेन्सीमा निगमले जापान उडान संचालन गर्ने बताएको छ । २७४ सीट क्षमताको वाइडबडी जहाजमा ७० प्रतिशत सीट भरियो भने उक्त उडान नाफामा जाने निगमको भनाई छ ।

जापान उडान शुरु भएको केही समय भित्रै ८०–८५ प्रतिशत अक्कुपेन्सीमा यात्रु पाउने अनुमान निगमले गरेको छ । जापानमा नेपाली विद्यार्थी, कामदार र वर्षेनी करीव ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मूख्य पाहुना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस