हृदयेश त्रिपाठीको समुहले किन बोलायो विशेष भेला ?

२० भदौंमा राष्ट्रिय भेला, नेकपासँग पार्टी एकता गर्ने–नगर्नेमा छलफल हुदैं

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ०७ : ०५
हृदयेश त्रिपाठीको समुहले किन बोलायो विशेष भेला ?

काठमाडौं । संसदमा नेकपाको सांसद भएपनि हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ताको राजनीतिमा अलग अस्तित्व छ  । उनीहरु स्वतन्त्र समूहका रुपमा संगठित छन् ।

तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी छोडेर उनीहरुले स्वतन्त्र समुह बनाएका थिए । तत्कालिन एमाले –माओवादीको चुनावी गठबन्धनका बेला एमालेसँग चुनावी तालमेल गरी एमालेको चुनाव चिन्हमा उनीहरुले चुनाव लडेका थिए । त्यसमध्ये केन्द्रमा हृदयेश र वृजेश गुप्ताले चुनाव जिते ।

स्वतन्त्र सांसदको रुपमा रहेपछि सिंहदरबारभित्रै एमाले दलको कार्यलयसँगै त्रिपाठीहरुलाई संसदले छुट्टै कार्यालय समेत दिएको छ ।

चुनाव तत्कालिन सूर्य चुनाव चिन्हबाट जितेसँगै उनीहरुको नेकपा प्रवेशको चर्चाले पनि उत्तिकै महत्व पाईरहेको छ । यो बीचमा एकता छलफलकै लागि उनीहरुले प्रचण्ड ओलीसँग पनि पटक पटक छलफल गरिसकेका छन् ।

चुनाव पछि नेकपासँग पार्टी एकताको चर्चा र छलफल चलेपनि उनीहरुले कुनै निर्णय यस बारेमा लिएका त छैनन् । तर आफ्नो विचार समुहको छलफलका लागि उनीहरुले भदौं २० मा विशेष भेला भने बोलाएका छन् ।

आफ्नो समुहको अबको राजनीतिक लाइन के बनाउने ? नेकपासँगको एकता या अन्य विचार समुहकै रुपमा केही समय अगाडी बढ्ने भन्ने विषयमा पनि सोही विशेष राष्टिय भेलामा छलफल हुने त्रिपाठीले बताएका छन् ।

‘हामीले भेला बोलाएका छौं, अब भेलामा कसरी अगाडी बढ्ने भन्नेमा केन्द्रीत रहेर छलफल गछौं,’ त्रिपाठीले सफलखबर सँग भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता प्रक्रियामा रहेको भनिए तापनि झन्डै दुई वर्षसम्म कुनै निर्णयमा पुग्न नसकेको त्रिपाठी नेतृत्वको समूहले भेलाबाट भने ठोस निर्णय लिने बताईएको छ ।

‘स्वतन्त्र राजनीतिक समूह अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भेलामा हुन्छ,’ त्रिपाठील भने, ‘भेलापछि जे निर्णय हुन्छ, त्यहीअनुसार अघि बढ्ने छौं । त्यसका लागि भेलाबाट आवश्यक निर्णय लिने तयारी छ ।’

पार्टी एकतामै पुग्ने भन्दा पनि अहिले विचार समुहकै रुपमा देशब्यापी संगठन विस्तार अभियान चलाउने योजनामा त्रिपाठी समुहसँग पहिलो विकल्प रहेको भेला आयोजक समितिका सदस्य मध्येका अर्का एक नेताले बताए ।

उनका अनुसार, यसका लागि विचार समुहका नेताहरुसँग आन्तरिक परामर्श समेत भईरहेको छ । यस अगाडी स्वतन्त्र विचार समुहमा प्रदेश नम्बर ५ र ७ बाट मात्रै प्रतिनिधित्व रहेकामा अब भने थप ३ प्रदेशवाट पनि प्रतिनिधित्व गराइृ भेलामा छलफल गराइने तयारी पनि उक्त राजनीतिक समुहले बनाएको छ ।

भेलामा ५ र ७ (सुदूरपश्चिम) सहित १, २ र ३ नम्बर प्रदेशबाट पनि कार्यकर्ता सहभागी हुनेछन् । त्यसका लागि वृहत तयारी भइरहेको आयोजकहरुको भनाई छ । बैठकले समसामायिक राजनीतिसहित मुख्यतः केपी ओली सरकारबाट भइरहेका काम–कारबाहीबारे पनि आफ्नो धारणा बनाउने छ । ओलीले भने त्रिपाठीलाइृ मन्त्री समेत बनाउने आश्वासन दिईरहेका छन् ।

भेलाले सरकारको समिक्षा गर्नेदेखि विभिन्न राजनीतिक पार्टीका चरित्र र गतिविधि विश्लेषण गर्ने सम्मको काम गर्ने आयोजकको भनाइृ छ । भेलामा किसानका समस्यामा समेत छलफल हुनेछन् । ‘नेपाल–भारत सीमामा भइरहेका अवरोधबारे बैठकले छलफल गर्नेछ,’ त्रिपाठीले भने । झन्डै एक दर्जन एजेन्डामा छलफल हुने भेलाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

नेपालका कम्युनिस्ट पार्टीले वर्गीय विषय उठान गर्दै आए पनि मधेशी, थारु र मुस्लिम समुदायप्रति उति उदार नभएको भन्दै त्यसप्रति उदार हुने सन्दर्भमा पार्टी एकता हुन सके एकता प्रक्रिया सहज हुने दृष्टिकोण यो समुहको देखिन्छ ।

मधेसी, थारु र मुस्लिमलगायत जनजाति आदिवासीप्रति अनुदार भएको भन्दै खुकुलो हुने सर्तमा त्रिपाठी समूहले नेकपासँग पार्टी एकता गर्न सकिने जनाउँदै आएको छ ।

‘भेलाबाट अर्को पार्टी बनाउने भन्ने निर्णय नै त गरिँदैन तर विकल्पबारे भने छलफल पक्कै हुन्छ,’ त्रिपाठीले भने, ‘एक वर्षअघि नेकपासँग पार्टी एकता गर्न जति उत्साह कार्यकर्तामा थियो, त्यो उत्साह अहिले घटेको अवस्था छ । यस्तो बेला निर्णय के होला ? यसै भन्न सकिन्न ।’ उनका अनुसार नयाँ परिस्थिति उत्पन्न भएकाले कार्यकर्ताको निर्देशनअनुसार नेतृत्व चल्ने छ ।

प्रतिक्रिया दिनुहोस