प्रहरीलाई ढुंगा हान्ने र हुलदंगा गर्नेहरु छाडिए

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, १४ : ११
प्रहरीलाई ढुंगा हान्ने र हुलदंगा गर्नेहरु छाडिए

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा फाउ परेका टेलभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीलाई ढुंगा हान्ने र हुलदंगा गर्नेहरुलाई आज छाडिएको छ । कार्यक्रम प्रस्तोता लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा हिजो सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । 
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो । 
पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज भरतपुरमा पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् । यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताए । 
मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस