माधव नेपाल एकाबिहानै प्रचण्ड निवासमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, ०९ : २०
माधव नेपाल एकाबिहानै प्रचण्ड निवासमा

काठमाडौं । पार्टी बैठकमा प्रधानमन्त्री केपी ओलीसँग चर्काचर्की गरेका वरिष्ठ नेता माधव नेपाल आज एकाबिहानै प्रचण्ड निवास पुगेका छन् । पार्टीमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनुपस्थितीमा पनि पार्टी बैठक वोलाउने र निर्णय गराउने सम्मको अधिकार प्रचण्डलाई सचिवालय बैठकले दिएपछि बिहानै नेपाल प्रचण्ड निवास पुगेका हुन् ।

ओलीले पार्टी बैठक बोलाएर संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन सिंगापुर भ्रमण अगाडीको सचिवालय बैठकमा भने पनि निर्णय गर्दा भने आफ्नो पनि सहमति लिन भन्दै टेलिफोन सम्र्पकमै रहने भनेपछि बिहिबार ओली नेपाल चर्काचर्की परेको थियो ।

नेपाल ओली चर्काचर्की पर्दा विवाद मिलाई समन्वयकारी भूमिका खेल्न अध्यक्ष दाहालले प्रयास गरेका थिए । एकदम तल्लो तहमै उत्रेर आरोप प्रत्यारोप चलिरहदा प्रचण्डले बैठकमा हस्तक्षेप गरेर बैठकलाई साम्य पार्दै स्थगित गराएका थिए । त्यसपछि नेपाल बालुवाटारवाट बाहिरिएका थिए । त्यसपछि बिग्रेको वातावरण मिलाउने र नेताहरुको मन दुखाई सान्त पार्ने प्रयासमा अहिले प्रचण्ड देखिएका छन् ।

खुमलटारमा झण्डै तीन घण्टा सम्म दुई नेताबीच चलेको छलफलमा पार्टीभित्रका नेताहरुको दन्तबझान सकभर मिलाउने प्रयासमा प्रचण्ड देखिएका छन् ।

उनले नेपाललाई आवेश उत्तेजनामा नआई एकीकृत पार्टीका लागि पहल लिन आफु तलै रहेर पनि भूमिका खेल्न आग्रह गरेको स्रोतले बताएको छ ।

नेपालले हिजो बालुवाटार बैठकपछि आफु निकट नेताहरुसँग परामर्श गरेका थिए । कोही नेतालाई आफ्नै निवासमा र कोहीलाई वानेश्वरको अर्याल होटलमा नेता नेपालले बालुवाटार बैठकमा ओलीसँग परेको चर्काचर्कीका विषयमा केन्द्रीत रहेर छलफल गरेका थिए ।

त्यसपछि अहिले बिहानै उनी प्रचण्ड निवास खुमलटार पुगेका हुन् । नेताहरुसँगको एकचरणको परामर्श पछि प्रचण्डले पार्टी बैठक बोलाउने तयारी गरेका छन् । पार्टीका संगठनात्मक बाँकी काम टुंगो लगाउन प्रचण्डले नेताहरुसँग छलफल पछि बैठक बोलाउन खोजेका हुन् । 

प्रतिक्रिया दिनुहोस