पार्टी बैठक बोलाउने र अध्यक्षता गर्ने अधिकार अब प्रचण्डलाई

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०७६, ११ : ३३
पार्टी बैठक बोलाउने र अध्यक्षता गर्ने अधिकार अब प्रचण्डलाई

काठमाडौं । नेकपाका दुई अध्यक्ष समान भएपनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले मात्र अहिलेसम्म पार्टी बैठकको अध्यक्षता गरिरहेको भन्दै पार्टीमा असन्तुष्टि बढिरहेको बेला अब अर्का अध्यक्ष प्रचण्डलाई पनि बैठक बोलाउने र अध्यक्षता गर्न पाउने अधिकार मिलेको छ ।

प्रधानमन्त्री ओली सिंगापुर उपचार भ्रमणमा जानु अगाडी आज बिहान बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई त्यस्तो अधिकार दिने निर्णय गरेको हो । यो निर्णयसँगै अब ओलीको अनुपस्थितीमा पनि प्रचण्डले पार्टी बैठक बोलाउने र अध्यक्षता गर्न पाउनेछन् ।

‘अब प्रचण्डले ओली नहुदा पनि पार्टी बैठक बोलाउने र बैठकको अध्यक्षता गर्न पाउने गरि सचिवालयले निर्णय गरेको छ,’ नेकपाका एक सचिवालय सदस्यले सफलखबरसँग भने ।

यस अगाडी दुई अध्यक्षको आपसी सहमतिका आधारमा मात्र बैठक बोलाउन सकिने ब्यवस्था थियो ।  त्यसरी बोलाईएको बैठकको अध्यक्षता आलोपालो गर्ने दुई अध्यक्षका बीचमा सहमति भएपनि प्रचण्डले बैठकको अध्यक्षता गर्न पाएका थिएनन् । ओलीले आलोपालो बैठकको अध्यक्षता गर्ने जिम्मा प्रचण्डलाई नदिएको भन्दै पूर्व माओवादी नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

तर बिहिबार बिहानको सचिवालयले भने ओलीको अनुपस्थितीमा पनि प्रचण्डलाई बैठक बोलाउने अधिकार दिएको ति नेताले बताए ।

बिहिबारको सचिवालय बैठकमा तेश्रो मर्यादाक्रम पाएका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

अब एकताको बाँकी कामको टुंगो अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर टुंग्याइने निर्णय सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस