बच्चा साट्ने अाराेप खेप्दै वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पताल

बुधबार, २९ कार्तिक २०७४, ०९ : ५२
बच्चा साट्ने अाराेप खेप्दै वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पताल

सामान्यतया बच्चा जन्मँदा आमाबाबु खुसी हुनुपर्ने हो । सुत्केरीलाई सुरक्षित सेवा प्रदान गर्ने अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकसहित उनको टोलीले धन्यवाद पाउनुपर्ने हो । तर, वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पछिल्लो समय फरक दृश्यहरू देखिएका छन् ।

आइतबार छपकैया–१ घर भएका अनिल पासवानकी पत्नी उषा पासवानले छोरी जन्मिएलगत्तै विवाद झिकिन् । आफूले छोरालाई जन्म दिए पनि अस्पतालका कर्मचारीले बच्चा साटिदिएको उनको आरोप थियो । उषाकी आमा जयगनिया देवीले पनि छोरीको कुरामा सही थपिन् । विवाद बढ्यो । अस्पतालका मेसु डाक्टर इमामुल र प्रसूति विभागका प्रमुख सुरेन्द्र चौधरीको रोहबरमा लामो समय छलफल भयो । अन्त्यमा, उषाले आरोप फिर्ता लिइन् ।

शनिबार बिहान पनि अस्पतालमा यस्तै घटना देखिएको थियो । सर्लाहीको बलरा नगरपालिका– ११ घर भई वीरगन्ज महानगरपालिका प्रगतिनगरमा बस्दै आएका राममनोजप्रसाद कुसवाहकी पत्नी कामिनीदेवी कुसवाहले छोरी जन्माएकी थिइन् । उक्त छोरी आफ्नो नभएको कुसवाह परिवारको दाबी छ । उनीहरूले पनि अस्पतालले बच्चा साटिदिएको आरोप लगाएका छन्।

बिहान साढे ९ बजे बच्चा जन्मिएपछि कामिनीलाई अस्पतालका कर्मचारीहरूले छोरा देखाएको र त्यही जानकारी आफूले पाएको उनको दाबी छ । तर, पछि वार्डका नर्सहरूले छोरी हातमा थमाएको उनले आरोप लगाए । बच्चा साटिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन् । जिल्ला प्रशासनको निर्देशनमा अस्पताल प्रशासनले सोमबार नै घटनाबारे कर्मचारी र पीडित पक्षसँग सोधपुछ गरेर प्रतिवेदन प्रहरीलाई बुझाएको छ । डिएनए परीक्षण नै गर्नुपर्ने माग कुसवाह परिवारले राखेको छ ।

श्रीमान् मनोज कुसवाहका अनुसार तीन महिनाअघि नै श्रीमती कामिनीदेवीको भिडियो एक्सरे गराइएको थियो । ‘त्यतिवेला नै गर्भमा छोरा छ वा छोरी भन्ने जानकारी हामीलाई दिइएको भए अहिले यति समस्या हुने थिएन,’ उनले भने । आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे प्रविधि प्रयोग गर्न पाइए पनि ‘पेटमा छोरा छ वा छोरी’ भन्ने विषय सार्वजनिक गर्न कानुनले बन्देज गरेको छ । छोरीको भू्रण हत्या हुने क्रम बढेका कारण यस्तो बन्देज लगाइएको छ । जसका कारण सरकारी अस्पतालले पेटमा भएको बच्चाको लैंगिक जानकारी दिँदैनन् ।

नारायणी उपक्षेत्रीय अस्पतालमा नै भिडियो एक्सरे गराएका कारण कुसवाह परिवारले पनि यस विषयमा जानकारी पाएको थिएन । दुई छोरा र एक छोरीको बुबा बताउने मनोज लैंगिक विषय नभएर आफ्नो सरोकार ‘आफ्नो रगतसँग’ रहेको बताउँछन् । श्रीमतीले छोरा नै देखेको बताएको र सासूले पनि ढोकाबाट नाति जन्मेको देखेको उनको दाबी छ । ‘कालो होस् वा गोरो होस, छोरा होस् वा छोरी, मलाई कुनै सरोकार भएन,’ मनोजले भने, ‘मलाई मेरो सन्तान चाहियो, मलाई न्याय चाहियो । त्यसका लागि डिएनए परीक्षण नै किन गर्न नपरोस् ।’

उनले अस्पताल प्रशासनले समस्या समाधानभन्दा पनि विभिन्न डरत्रास देखाएर घटना दबाउने प्रयत्न गरेको आरोप लगाए । ‘शनिबार बिहान साढे ९ बजेतिर बच्चा जन्मिएको थियो । बच्चा जन्मिएपछि मलाई छोरा हो कि छोरी हो भनेर पनि कसैले खबर गरेनन्,’ उनले भने, ‘श्रीमतीले छोरो जन्मिएको भनिन्, तर १५ मिनेटपछि हातमा छोरी थमाइदिए । कम्तीमा २४ घन्टा अस्पतालमा राख्नुपर्नेमा सुत्केरी भएकै दिन विवाद नगर भनेर घर पठाइदिए ।’

बच्चा साटिनै नसक्नेअस्पताल प्रशासनको दाबी
अस्पताल प्रशासन भने बच्चा साटिएको स्वीकार गर्न तयार छैन । अस्पतालका सुत्केरी विभाग प्रमुख डा. सुरेन्द्र चौधरी अस्पतालमा बच्चा साटिनै नसक्ने बताउँछन् । ‘सामान्य अवस्थामा पनि अस्पतालमा दैनिक २५–३० वटा सामान्य प्रसूति हुन्छ, दुई–तीनवटा शल्यक्रिया हुने गरेको छ । हामीले पहिला सुत्केरी महिलालाई बच्चा देखाउँछौँ, बच्चा के हो सोध्छौँ ? त्यसपछि सम्बन्धित अभिभावकलाई बुझाउँछौँ, सही गराउँछौँ अनि मात्रै वार्डमा लैजान्छौँ,’ उनले भने, ‘मनोजको केसमा आमाले छोरी जन्मेको भनेर स्वीकार गरेकी थिइन् । त्यसपछि अभिभावकलाई जिम्मा लगाएका थियौँ, पछि उनीहरूले हाम्रो छोरा थियो, छोरी कसरी भयो भनेर दाबी गरेका हुन् ।’

उनले मनोजको बच्चा साटिएको भन्ने आरोप पनि सही नभएको दाबी गरे । ‘सँगै प्रसूति भएकी अर्की महिलाले र सल्मा खातुन र सञ्जु लामा नाम गरेका दुईजना स्टाफले हेरेका छन् । उनको छोरी नै जन्मिएको भनेका छन्,’ उनले भने, ‘प्रशासनमा उजुरी परेकाले घटनाको सत्य–तथ्य प्रशासनले नै बाहिर ल्याउँछ होला ।’

छानबिन समितिको प्रतिवेदन प्रहरी कार्यालयमा
अस्पतालले सोमबार नै घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक, प्रसूति विभागका प्रमुख चौधरीसहितको छानबिन समितिले प्रसूति वार्डमा कार्यरत कर्मचारी र बच्चाकी आमा कामिनीदेवीसँग पनि छलफल गरेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइसकिएको अस्पतालका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रमेश चौधरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटले बच्चा साटिएको सम्बन्धमा अस्पतालले तयार पारेको प्रतिवेदन प्राप्त भएको बताए ।

छोराकै लागि मात्र किन विवाद ?
अस्पतालमा बच्चा साटिएको भनेर बाहिरिएको दुवै विवादमा छोरा जन्मिएको, तर साटेर छोरी दिएको भन्ने आरोप परिवार पक्षले लगाएको छ । छोरीको साटो छोरा साटियो भन्ने विवाद कहिल्यै नआएको अस्पताल प्रशासनको भनाइ छ ।

छोरीको जन्मलाई सहज स्विकार्न नसक्ने सामाजिक कुसंस्कारका कारण यस्तो समस्या आएको कतिपयको बुझाइ छ । अस्पतालको प्रसूति विभागमा ४० वर्ष काम गरेकी पूर्वमेट्रोन विशाखा चौधरीले छोरीको जन्मलाई अभिशापका रूपमा लिने गरेका कारण यस्तो समस्या आएको बताउँछिन् । ‘छोरी पाउनेबित्तिकै छोरीलाई पढाउनुपर्छ, विवाह गर्दा दाइजो दिनुपर्ने हुन्छ । घरको मानिसले महिलालाई छोराका लागि दबाब दिइरहेका हुन्छन्,’ उनले भनिन्, ‘धेरै गर्भवती महिलाले कुराकानीको क्रममा लोग्न तथा सासूले मार्छन् पिट्छन् भन्ने गुनासो हामीसँग गरिरहेका हुन्छन् ।’

अस्पतालमा विवाद आउन थालेपछि नै आमाबाट पहिचान गरेपछि मात्रै वार्डमा लैजाने गरिएको उनले बताइन् । ‘पहिला सालनाल काटिसकेपछि मात्रै आमालाई छोरा वा छोरी भएको भनेर भन्ने गरेका थियौँ । विभिन्न घटना घट्ने, विवाद आउने गरेपछि बच्चा सिरियस नै छ भने पनि आमाको पेटको तातोमा राखेर पहिचान गराएपछि मात्रै वार्डमा पठाउने गरेका छौँ ।’

कतिपय महिलाले छोरी पाएको थाहा पाएपछि पहिचान गर्न नै अस्विकार गर्ने गरेको उनको अनुभव छ । ‘छोरी पाएको थाहा पाएपछि कतिपय महिलाले बच्चाको पहिचान गर्न नै अस्वीकार गरेको घटना मसँग धेरैपटक भएको छ । छोरी देखेपछि बेहोस भएजस्तो गर्छन् ।’ उनले फिल्ममा देखाइएजस्तो बच्चा साट्ने घटना नारायणी अस्पतालमा हुनै नसक्ने तर्क गरिन् ।
 

स्टाफ नर्सहरू तनावमा
लगातार बच्चा साटिएको आरोप लाग्न थालेपछि अस्पतालमा कार्यरत स्टाफ नर्सहरू तनावमा छन् । उनीहरूले काम गर्ने वातावरण नभएको गुनासो गर्न थालेका छन् ।

एकातिर प्रसूति वार्डमा पर्याप्त जनशक्ति छैन । अर्कोतिर विभिन्न बखेडा झिकेर तनाव दिने काम मात्रै भइरहेको उनीहरूको गुनासो छ । प्रसूति वार्डकी स्टाफ गीता केसीले सेवाग्राहीले विभिन्न बखेडा झिकेर तनाव मात्रै दिइरहेको बताइन् ।

प्रसूति वार्डकी निमित्त मेट्रोन माधवी चौधरीले स्टाफ नर्सहरूले काम गर्ने वातावरण नभएको गुनासो आउनु स्वाभाविक भएको बताइन् ।

‘२४ घन्टा सेवा दिने प्रसूति वार्डमा ११ जना स्टाफ रहेकोमा तीनजना बिदामा छन् । एउटा सिफ्टमा तीनजना खटाएका छौँ । तीन सिफ्ट चल्छ,’ चौधरीले भनिन्, ‘त्यसमा पनि सेवाग्राहीले अनावश्यक बखेडा झिकेर तनाव दिएका छन् । यसरी त अस्पतालमा काम गर्न गाह्रो हुन्छ ।’ प्रसूति वार्डका कर्मचारीले सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् ।-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस