लेकसाइडका रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्ने, आचारसंहिता र अनुगमनको तयारी

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १८ : ०९
लेकसाइडका रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्ने, आचारसंहिता र अनुगमनको तयारी

पोखरा ।  ‘रात्रीकालीन व्यवसाय सञ्चालन आचारसंहिता तथा अनुगमन निर्देशिका २०७६’ तयार पारेर लागू गर्ने सहमति भएपछि चौबिसै घण्टा लेकसाइड खोल्ने विषयको विवाद टुंगिएको छ ।
रात्रीकालीन व्यवसाय सञ्चालन सम्बन्धि जिल्ला प्रशासन कार्यालय कास्कीले तयार पारेर दिएको निर्देशिकालाई व्यवसायीहरुले सामान्य परिमार्जन गरि लागू गर्ने व्यवसायीहरुले सहमति गरेका छन् । सहमतिपछि व्यवसायीहरुले संयुक्त रुपमा हस्ताक्षर गरि निर्देशिका जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका छन् । 

पोखरा पर्यटन परिषद्, रेष्टुरेन्ड एन्ड बार एसोशियसन पोखरा, पश्चिमाञ्चल होटल संघ, टान पोखरा लगायतका पर्यटन सम्बद्ध संघ–संस्थाहरुले आपसि सहमतिमा ‘रात्रीकालीन व्यवसाय सञ्चालन आचारसंहिता तथा अनुगमन निर्देशिका २०७६’ तयार पारि लागू गर्न गराउन सहमति जनाएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । 

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले आचारसंहिता तथा निर्देशिकाका सम्बन्धमा सम्पूर्ण पर्यटन व्यवसायी राजी भइ हस्ताक्षर गरि निर्देशिका सहायक सिडियो गुरुदत्त ढकाललाई बुझाएको बताए । व्यवसायीहरुले बुझाएको निर्देशिका नेपाल सरकार गृहमन्त्रालय वा संघीय सरकारबाट पारित भएर आएपछि पूर्ण रुपमा लागू हुने उनले उल्लेख गरे । 
विभिन्न १२ वटा बुँदामा निर्देशिका तयार भएसँगै व्यवसायीहरुबीचको विवाद टुंगिएको बताउँदै पहारीले आइतबार अदालतामा पेश भएको रिटको पेशी भएकाले सोही दिन रिट फिर्ता लिने समेत बताए । लेकसाइडमा रातको समयमा हुने होहल्ला र प्रदूषण रोक्नुपर्ने मागसहित पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचन र पूर्वअध्यक्ष पहारीसहित पर्यटन सम्बद्ध संघ–संस्था तथा सामाजिक संघ–संस्थाका ४२ जनाले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । 
निर्देशिकामा कास्की जिल्लाभित्र सञ्चालन हुने गरी दर्ता भएका रेष्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, डान्स बार, डिस्को, दोहोरी साँझ, क्लब, जुम्बा, गजल, लज, होटल, स्पा, मसाज पार्लर, पार्टि प्यालेस, डिपार्टमेन्टल स्टोर जस्ता व्यवसायलाई मर्यादित एवं व्यवस्थित बनाउने उद्देश्यले अनुगमन तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति गठन गर्ने प्रावधान राखिएको पहारीले जनाए । 
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले आचार संहिताले लेकसाइडमा रहेका यावत समस्याहरुलाई सम्बोधन गर्न ठुलो भूमिका खेल्ने आफूहरुले विश्वास लिएको बताए । पर्यटन व्यवसायीहरुबीच एकरुपता कायम हुनुपर्ने, पर्यटन व्यवसाय निर्वाध रुपले सञ्चालन हुन पाउनुपर्ने सुरक्षाको प्रत्याभूति हुनुपर्ने र व्यवसायीले पनि व्यवसायीक धर्म र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनको तर्क छ ।  

प्रतिक्रिया दिनुहोस