न्यून गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने चार उद्योग कारबाहीमा

विहीबार, २३ साउन २०७६, १६ : १३
न्यून गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने चार उद्योग कारबाहीमा

चितवन । गुणस्तर तथा नापतौल विभागले न्यून गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारबाही गरेको छ । विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने उद्योगका सिमेन्ट बिक्रीवितरण रोक लगाएको छ भने एउटाको इजाजतपत्र रद्दसम्मको कारबाही गरेको हो।

विभागले गुणस्तरअनुसार सिमेन्ट उत्पादन नगर्ने चितवन सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो। परासीस्थित उक्त उद्योगले उत्पादन गरेको पिपिसी सिमेन्टमा ‘आइआर’ को मान तथा कम्प्रिहेन्सिप स्ट्रेन्थ’ गुणस्तरअनुसार नरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विज्ञप्तिमार्फत उद्योगलाई पटकपटक गुणस्तर कायम गर्न निर्देशन दिइँदा पनि पालना नगरेपछि इजाजतपत्र रद्दका लागि सिफारिस गर्ने निर्णय भएको जनाएका छन् । 

नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालिको इजाजतपत्र स्थगन गरी कारबाही गर्ने निर्णय विभागले गरेको छ। भैरहवास्थित उक्त उद्योगले उत्पादन गरिरहेको ओपिसी सिमेन्टमा म्याग्नेसिया ‘एमजिओ’को मान नेपाल गुणस्तरको मापदण्डअनुसार नरहेको पाइएको विभागले जनाएको छ। एमजिओको मान ७\३ प्रतिशत हुनुपर्ने नेपाल गुणस्तरको मापदण्ड अम्बुजा सिमेन्ट उद्योगले पालना नगरेको हो।

विभागले नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि मोरङ र जानकी सिमेन्ट इन्डस्ट्रिज प्रालि सुनसरीले उत्पादन गर्ने सिमेन्टको बिक्रीवितरणमा रोक लगाएको छ। ती दुवै उद्योगले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएकोमा मापदण्डअनुसारको गुणस्तर नपाइएको हो।

नेपाल अल्ट्राटेकका सिमेन्टमा आइआरको मान नेपाल गुणस्तरअनुसार नरहेको पाइएको विभागले जनाएको छ। त्यस्तै जानकी सिमेन्टका उत्पादनमा आइआर र लाइम स्याचुरेसन फ्याक्टर एलएफसीको मान गुणस्तरअनुसार नपाइएको जनाएको छ। विभागले दुवै उद्योगले उत्पादन गरेका सिमेन्ट बिक्रीवितरणमा रोक लगाई उद्योगसँग स्पष्टीकरण माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस