इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुमा लागेको आगो नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, २२ साउन २०७६, १५ : ४९
इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।त्यसपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको डीएसपी बोगटीले बताए ।

आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ ।सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो । आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ । जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत  लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस