बालुवाटारस्थित सुविसु भवनमा आगलागी (अपडेट)

ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान

सफल खबर संवाददाता

बुधबार, २२ साउन २०७६, १३ : १७
बालुवाटारस्थित सुविसु भवनमा आगलागी (अपडेट)

काठमाडौँ । बालुवाटारस्थित चिनियाँ राजदूतवास नजिक सुविसु भवनमा आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपरान्ह आगलागी भएको जानकारी दिनुभयो । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । बुधबार दिउँसो करिब पौने  १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस