भारतका पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

सफल खबर संवाददाता

बुधबार, २२ साउन २०७६, ०६ : ३४
भारतका पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतका पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा गएराती निधन भएको हो ।

उनको निधनको सरकारी तहबाटै पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय जनता पार्टीका नेताहरुलाई उदधृत गर्दै स्वराजको निधनको खबर गएरातीनै लेखेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वराज अब नरहेको भन्दै श्रद्धान्जली ब्यक्त गर्दै सामाजिक सन्जालमा लेखेका थिए ।

एक्काशी हृदयाघात भएपछि स्वराजलाई राती  १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पु‍¥याइएको थियो । तर अस्पतालले अस्पताल पु‍¥याउँदा नै उनको निधन भइसकेको  पुष्टि गरेको खवर स्रोतलाई उद्‍धृत गर्दै वायरले लेखेको छ ।

टाइम्स अफ इन्डियाले पनि उनको मृत्यु हृदयाघातका कारण भएको जनाएको छ । सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन् ।

२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन् । इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन् ।

१९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन् । उनी दिल्लीको मुख्यमन्त्री समेत भएकी थिइन् ।

मोदीको पहिलो कार्यकालमा उनी विदेश मन्त्री थिइन् ।

प्रतिक्रिया दिनुहोस