काठमाडौं । सर्वाेच्च अदालतले फेवातालको जग्गा अतिक्रमणको मुद्दामा गरेको आदेश अवहेलना गरेको भन्दै प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइएको मुद्दामा मिसिल झिकाउन आदेश गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सो अवहेलनासम्बन्धी मुद्दामा सुनुवाई गर्दै मिसिल झिकाउन आदेश गरेको हो ।
खगेन्द्र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्तिबहादुर बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्साललाई विपक्षी बनाइ साउन १६ गते सर्वाेच्च अदालतमा अवहेलनाको रिट दायर गरेका थिए । रिटमा अदालतले गरेको फैसला कार्यान्वयन नगरेको भन्दै एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।
फेवातालको जग्गा अतिक्रमणको मुद्दामा अदालतले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको रिटमा जिकिर गरिएको छ । प्रधानमन्त्री कार्यालयले फेवातालको जमिनको क्षेत्र छुट्टाउनुपर्ने र भूमि सुधार मन्त्रालयले रेखांकन गर्नुपर्ने सर्वोच्चको फैसला थियो । अदालतको फैसलाअनुसार ती निकायले काम नगरेको पनि रिटमा दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०७६, १७ : २५
लेखकबाट थप