नयाँ दिल्लीबारे नयाँ प्रतिवेदन सार्वजनिक

एजेन्सी

मंगलबार, १६ माघ २०७४, १६ : ०५
नयाँ दिल्लीबारे नयाँ प्रतिवेदन सार्वजनिक

एजेन्सी ।  भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ ।  सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले मङ्गलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ ।  भारतका मुख्य ३० वटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँ दिल्ली सहरमा पाइएको हो ।

लखनाउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको समाचारमा जनाइएको छ । दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र बिहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ । 

यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको छ । यी राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।  ती राज्यमा पाँच वर्ष मुनिका करिब १ करोड २९ लाख बालबालिका बस्छन् । 

प्रतिक्रिया दिनुहोस