काठमाडौं । संघीय ब्यवस्थापिका संसद अन्र्तगतको प्रतिनिधीसभा बैठक अवरुद्ध भएको २७ दिन पुगिसक्यो । अझै मुख्य राजनीतिक दलका बीचमा संसद खुलाउने मिलन विन्दु फेला परेको छैन ।
सभामुख कृष्णबहादुर महराले बन्धक बनेको संसद खुलाउन सर्वदलीय बैठक देखि नेताहरुसँग अनौपचारिक रुपमा छुटाछुटै छलफल गरेपनि निकास फेला पार्न सकेका छैनन् ।
प्रतिपक्षी कांग्रेस र राजपाले सर्लाहीमा मारिएका विप्लव नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्डको छानविनका लागि संसदीय समिति बनाउनु पर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै लगातार संसद बैठक अवरोध गर्दै आएका थिए । संसद बैठक दिउँसो २ बजे बोलाईएको थियो । सहमतिको प्रयासकै लागि सभामुख कृष्णबहादुर महराले बैठक एक घण्टा पछाडी सारेका छन् । र उनले फेरि अहिले बानेश्वरस्थित संसद भवनको शंकर हलमा अहिले सर्वदलीय बैठकको आयोजना गर्न लागेको उनका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिएका छन् ।
४ दिन अगाडी दलहरुबीचको छलफल संसद बैठक खोल्ने विषयमा लचिलो देखिएपनि यो बीचमा थप छलफल गर्नुपर्ने भन्दै आज सम्मका लागि बैठक स्थगित गरिएको थियो ।
त्यही बीचमा सबै दलहरु सहभागी गराएर सभामुख महराले सर्वदलीय बैठक मात्र गरेका छैनन्, हिजो मात्रै कांग्रेस नेता विजय गच्छेदार, बालकृष्ण खाँण, नेकपा नेता देव गुरुङ, राजपा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव, लक्ष्मणलाल कर्ण लगायतसँग प्रत्यक्ष भेटेरै सम्वाद गरेका थिए भने पूर्व सभामुख सुवास नेम्वाङसँग पनि टेलिफोन वार्ता गरेको सभामुख महराका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए । तर पनि निकासको बाटो पहिलिएको भने छैन ।
बैठक अब भने सधै बन्धक बनाउन नहुने भन्दै सहमतिमा प्रतिपक्षी दल नआए अवरोधका बीच पनि सञ्चालन गर्न सभामुख महरालाई सत्तापक्षका नेताहरुले दबाब बढाएको स्रोतको दाबी छ ।
सभामुख महरा भने अवरोधका बीच संसद चलाउने नचलाउने भन्नेमा निष्र्कषमा पुगिसकेका छैनन् ।
सभामुख महरासँगको छलफलमा दलहरु गतिरोध अन्त्यका लागि सकारात्मक देखिए पनि निकासको बाटो भने एकिन गराउन सकेका छैनन । गतिरोध अन्त्यका लागि कांग्रेसले आज पनि आन्तरिक छलफल गर्दैछ । संसद बैठक बस्नु अघि थप छलफल गर्दै निकास दिने सचेतक पुष्पा भुषालले बताइन् । यद्यपि राजपा सांसद लक्ष्मणलाल कर्णले माग सम्बोधन नभएसम्म संसदको गतिरोध अन्त्य नहुने बताईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०७६, १० : ५८
लेखकबाट थप