भ्रामक समाचारमार्फत् जनतामा घृणा फैलाएको ठहर

सम्पादक, संचालक, संवाददाता र पब्लिकेसनलाई जनही २० हजार जरिवाना

सफल खबर संवाददाता

शुक्रबार, १७ साउन २०७६, ११ : ५१
भ्रामक समाचारमार्फत् जनतामा घृणा फैलाएको ठहर

ललितपुर​ । भ्रामक समाचार मार्फत सर्वसाधारण जनतामा घृणा फैलाएको अभियोगमा ललितपुर जिल्ला अदालतले आर्थिक राष्ट्रिय दैनिकलाई दोषी ठहर गरेको छ । तथ्यहीन समाचार संप्रेषण गरी भ्रम फैलाएको अभियोगमा आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाल, चाहना पब्लिकेशनप्रा.लि,  सञ्चालक रामप्रसाद पुडासैनी र संवाददता रोशनकार्कीलाई जनही २० हजार जरीवाना गर्न जिल्लाअदालत ललितपुरले आदेश दिएको हो ।

चौधरी ग्रुपले कम्पनीको बारेमा भ्रामक, अतिरञ्जनापूर्ण र तथ्यहीन सामाग्री संप्रेषण गरी कम्पनी विरुद्ध दुराग्रहपूर्ण ढंगले दुष्प्रचार गरी जनतामाभ्रम फैलाएको भन्दै दायर गरेको मुद्धामा मुलुकीअपराध संहिता,२०७४ को दफा ३०७को उपदफा १ (२) अनुसार चाहना पब्लिकेशन प्रा.लि. सहित प्रतिवादीहरु पुडासैनी, रिजाल र कार्कीलाई जरीवानाको फैसला सुनाएको हो ।

सरकारले पनि असुली गर्न सकेन चौधरी ग्रुपसंग करछलीको रकम, विचाराधीन मुद्धालाई प्रभाव पार्दै चौधरी समूह आर्थिक अपराधमा संलग्न, आयल निगमको १२ बिगाहा जग्गाआफ्नो नाममा गर्न चौधरीको दवाव, सरकारी कर्मचारीहरुलाई समेत प्रभाव पारी सीजी पार्कको नाममा सरकारी जग्गा अतिक्रमण जस्ता शीर्षकमा भ्रामक र कपोकल्पित समाचारहरु संप्रेषण भएको जिल्ला अदालत ललितपुरले ठहर गरेको छ । ती समाचारमा अनावश्यक रुपमा चौधरी ग्रुप आबद्ध परिवारका सदस्यहरुको तस्विर समेत संप्रेषण गरी सर्वसाधारणलाई सुसुचित गराउनेभन्दाजनताप्रति घृणा फैलाउने गरी चौधरी ग्रुप र त्यसमा आबद्ध व्यवसायीको सुनियोजित रुपमा चरित्रहत्या गरिएको अदालतको ठहर छ ।

आर्थिक दैनिकले निरन्तर चौधरी ग्रुपविरुद्ध तथ्यहीन र भ्रामक समाचार संप्रेषण गर्दै आएको छ । चौधरी ग्रुपका लोकप्रिय उत्पादनहरुका बारेमा आर्थिक दैनिकले श्रृंखलाबद्ध रुपमा तथ्यहीन समाचार संप्रेषण गरेपछि चौधरी ग्रुप कानूनी उपचारका लागि अदालत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस