काठमाडौंका मेयर जम्बो टोली बोकेर सुटुक्क चिन भ्रमणमा

सरकारको अनुमति नै नलिई भ्रमणमा गएको खुलासा, तर महानगरपालिका भन्छ, –अनुमति लिईएको छ

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, ०७ : १६
काठमाडौंका मेयर जम्बो टोली बोकेर सुटुक्क चिन भ्रमणमा

काठमाडौं । सय दिनमा सय कामको नारा दिएर चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जम्बो टोली लिएर उत्तरी छिमेकी मुलुक चिनको भ्रमणमा निस्किएका छन् ।

मेयर लगायतका जननिर्वाचित पदाधिकारीहरु विदेश भ्रमणमा जानुपर्दा मन्त्रिपरिषद्को स्वीकृत लिएर मात्र जानुपर्ने हुन्छ । तर उनले मन्त्रीपरिषद्बाट कुनै स्वीकृती नै नलिई सुटुक्क जम्बो टोली बोकेर चिन पुगेका हुन् ।

मन्त्रीपरिषद् स्रोतले भन्यो, –‘उहाँले क्याबिनेटबाट स्वीकृती नै लिनुभएको छैन, तर उहाँ महानगरका जम्बो टोली बोेकेर चिन भ्रमणमा हुनुहुँदो रहेछ । यो कानुन विपरित छ ।’

शाक्य आइतबार चिन भ्रमणमा गएका हुन् । उनले चिनको ल्यासा र छेन्दु शहरको भ्रमण गर्ने कार्यक्रम बनाई त्यसतर्फ गएका हुन् । शाक्यको टोलीमा पत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी छन् ।

महानगरपालिकाले भने अनुमति लिएर नै शाक्य सहतिको टोली भ्रमणमा गएको जिकिर गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कानुनत अनुमति लिएरै भ्रमण भएको बताए । ‘उहाहरुले सरकारको अनुमति लिएरै भ्रमण गर्नुभएको हो । त्यो पनि हामीसँग वर्षौंदेखि भगिनी सम्बन्ध स्थापित भएको ल्हासा र छेन्दु सहरको निमन्त्रणमा उहाँहरु त्यसतर्फ जानुभएको हो,’ डंगोलले सफल खबरसँग भने । 
 

प्रतिक्रिया दिनुहोस