काठमाडौं । जताततै भवाङ परेपछि टाल्नै पनि गाह्रो हुन्छ । यता टाल्यो, उता भवाङ पर्ने, उता टाल्यो, यता भवाङ पर्ने । प्रमुख प्रतिपक्षी काग्रेसको पछिल्लो नियति हो यो । पार्टीको नियमित महाधिवेशन टारेर कार्यअवधी बढाउने र अन्तरिम संरचना निर्माण गरेर तत्काललाई स्थानिय तहको संरचना बनाउने योजनामा लागेका काग्रेस सभापति शेरबहादुर देउवालाई जारी केन्द्रीय समिति बैठक यस्तै बनिरहेको छ ।
पार्टी गतिशिल बनाउने, आफ्नै प्रष्ट योजना र भिजनका साथ अगाडी बढाउने भन्दा पनि संसद देखि सडकसम्मका कार्ययोजना बनाउनै काग्रेस चुक्न थालेपछि अहिले सभापति शेरबहादुर देउवाका विरुद्ध काग्रेसकै विभिन्न गुट, समुह र कमिटिहरुका गुटगत भेला, बैठकहरु हुन थालेका छन् ।
त्यसको आरोप र प्रेसर थेग्न पनि सभापति देउवालाई बेला बेला त झन्झट लाग्न थालेको छ । पछिल्लो पटक भएको छ त्यस्तै । उनीविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत नेताहरुले बेलाबखत गर्ने घेराबन्दी त आफ्नो ठाउमा छ । जिल्ला कमिटि देखि पार्टीका भातृ सस्थाका नेताहरुले पनि गुटबन्दी गरेर प्रेसर ढाल्न खोजेकै छन् ।
हिजो बुधवार मात्रै पनि काग्रेसका १९ जिल्ला सभापतिले देउवाको पार्टी कार्य सञ्चालनमाथी प्रश्न उठाउदै खबरदारी गर्ने निष्र्कष निकालेका छन् । पार्टी केन्द्रीय समिति बैठक चलिरहेकै बेला नियमित महाधिवेशनको मिति तोक्न र स्थानिय संरचना अधिवेशनमार्फत नै गर्न दबाब बढाउनु आवश्यक पर्ने भन्दै जिल्ला सभापतिहरुले बुधवार भेला गरेका हुन् ।
भेलामा काभ्रे जिल्ला सभापति मधु आचार्य, नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसी लगायतका १९ जिल्ला सभापतिको उपस्थिती थियो । केन्द्रीय महाधिवेशन ढिलो गर्ने नियतका साथ स्थानिय संरचना निर्माण नगरेको भन्दै उनीहरुले नेतृत्वलाई दबाब बढाउनुपर्ने निष्र्कष निकालेको काभ्रे सभापति आचार्यले बताए ।
‘नयाँ संरचना निर्वाचन भएर आएको दुईवर्ष सम्म पनि बनाउन पार्टी सभापतिलाई के ले रोकेको छ ? भन्दै जिल्ला सभापतिहरु सभापतिसँग आक्रोश पोखिरहेका छन् । ‘संविधान जारी भएसँगै अन्तरिम कमिटि बनाएर जानुपर्दथ्यो । तर दुईवर्ष सम्म केही नगर्ने अहिले फेरि अन्तरिम भन्ने ? यो मिल्दैन । ’आचार्यले भने, –‘अब बन्ने संरचनालाई निर्वाचनको प्रक्रियामार्फत नै नियमित अधिवेशनका रुपमा अगाडी बढाउनु पर्छ ।’
पार्टी सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आउने फागुनमा सकिदैछ । जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलहरुको जोडबलमा महाधिवेशनका विषयमा पनि छलफल पार्टी एजेण्डा बनेको छ । केन्द्रीय समिति बैठक आज दिउँसो पार्टी कार्यालयमा बस्दैछ । यही बेला दबाब बढाएर योजनामा लैजानुपर्ने जिल्ला सभापतिहरुको जोड छ । तर सभापति देउवा भने उनीहरुका कुनै कुराको सुनुवाइृ गर्ने पक्षमा अझै देखिएका छैनन् ।
जिल्ला सभापतिहरुले सभापति देउवाले अझै अनिच्छा देखाएमा हस्ताक्षर अभियान चलाउनु पर्ने सम्ममा बुधवारको बैठकमा छलफल गरेका थिए । ‘क्रियाशिल सदस्यताको नविकरण र वितरणका लागि पनि नियमित अधिवेशन गर्नुपर्छ ।’ काभ्रे सभापति आचार्यले भने । केन्द्रीय महाधिवेशन गर्न ढिलाई गरे हस्ताक्षर संकलन गर्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् । तत्काल क्रियाशिल सदस्यता नविकरण र वितरण खुल्ला गर्नु पर्ने, महाधिवेशनको मिति तोक्नु पर्ने र स्थानिय संरचनाहरु अधिवेशन मार्फत बनाउनु पर्ने माग उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०७६, ०९ : ३४
लेखकबाट थप