काठमाडौं । लगातार तीन दिन यताको वर्षामा आज देखि भने केही फेरबदल हुने अनुमान मौसमविद्हरुले गरेका छन् । मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्हरुले गरेका छन् ।
तीन दिन यताको वर्षाका कारण आएको बाढी पहिरोका कारण अहिलेसम्म ३९ जनाको मृत्यु, ३३ बेपत्ता मात्रै भएनन, हजारौं परिवार विस्थापित समेत हुन पुगेका छन् ।
सडकहरु अबरुद्ध बनेका छन भने जनजीवन प्रायः ठप्प बनेको छ । तर मौसममा आज (आइतबार) देखि भने केही सुधार हुदै जाने र वर्षामा कमी आउने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले गरेका छन् ।
‘वर्षा नै नहुने भन्ने होइन, अझै १÷२ दिन वर्षा हुन्छ, तर अब भारी वर्षा चाँही केही कम हुने अनुमान हामीले गरेका हौं’ अर्यालले सफलखबरसँग टेलिफोनमा भने ।
उनका अनुसार ५० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटर कट्यो भने त्यो विनाशकारी हुन्छ । ‘आजदेखि ५० मिलमिटर कट्ने देखिन्न, तर त्यसो भनेर ढुक्क हुने अवस्था भने छैन,’ उनले भने ।
कन्काई, कोशी,कमला, वाग्मति, नारायणी लगायतमा वहाव सर्तकता तह आसपास हुने , पश्चिम राप्ती, ववई, कर्णाली र महाकालीमा वहाव बढ्दो क्रममा हुने तर सर्तकता तह भन्दा तल हुने, नारायणी र यसका शाखा नदीहरुमा वहाव तुलनात्मक रुपमा बढी हुने तर खतरा तहभन्दा तल हुने अनुमान बाढी सूचना केन्द्रको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी तराई भू–भागमा र पश्चिम पहाडी भू–भाग नजिक अवस्थित छ । साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र कमजोर अवस्थामा छ । यी प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने मौसमविद् अर्यालले बताए ।
झापा, मोरङ, इलाम लगायत जिल्लाहरुमा मध्यम देखि भारी वर्षा अहिले पनि भईरहेको छ । मेची, मिरिङ, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा लगायतका नदीहरुमा भने वहाव बढ्न सक्ने अवस्था रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०७६, ०८ : ००
लेखकबाट थप