सप्तरीमा बाढीले बनायो उठिवास

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १२ : ५९
सप्तरीमा बाढीले बनायो उठिवास

सप्तरी । अबिरल वर्षाका कारण सप्तरी जिल्लामा आएको बाढीले उठिबास नै बनाएको छ । सप्तरीका अधिकांस ठाउँ डुबानमा परेका छन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह कुनै न कुनै रुपमा प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परेको जनाएको छ । जिल्लामा कुनै मानवीय क्षति भएको छैन । 

बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् ।
हनुमाननगर कंकाली नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् । यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् ।

खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन् । यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन् ।

अबिरल वर्षाको कारण त्रियुगा खोलामा आएको बाढी वस्तीमा पसेको छ । उक्त बाढी सप्तकोसी नगरपालिका ३ स्थित दलित वस्तीमा पस्दा ३५ परिवार जोखिममा परेका छन् । सोही नगरपालिकाको वडा नम्बर ७ स्थित चौधरी बस्तीमा समेत बाढी पस्दा २५ परिवार जोखिममा छन् । यो नगरपालिकाको केन्द्र फत्तेपुर पनि डुबानमा परेको छ । फत्तेपुरस्थित त्रियुगा खोलाको हेडबाँध पारुहाङ चोक क्षेत्रका करिब सय घरमा बाढी पसेको छ ।
 

प्रतिक्रिया दिनुहोस