राजपा महाधिवेशनको सबै प्रक्रिया ठप्प

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, ०८ : ५३
राजपा महाधिवेशनको सबै प्रक्रिया ठप्प

काठमाडौं । महाधिवेशनको एकपटक कार्यतालिका सारिसकेको मधेस केन्द्रीत दल राष्टिय जनता पार्टी (राजपा)ले फेरि महाधिवेशन सार्ने सकेंत गरेको छ । महाधिवेशन पूर्वसन्ध्यामा अबलम्वन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अहिले राजपाको रोकिएको छ ।

दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्नका लागि विभिन्न समिति गठन गर्ने, महाधिवेशनमा पेस गर्नका लागि विधानलाई अन्तिम रूप दिनुपर्नेलगायत सबै काम रोकिएको महासचिव केशव झाले बताए ।

राजपाले आगामी कात्तिक २८–३० मा दोश्रो पटक महाधिवेशनको मिति तोकेको थियो । ६ ओटा मधेस केन्द्रीत दलको एकतापछि गठन भएको राजपाले पार्टी विद्यान संसोधन गदै ०७६ सालभरी महाधिवेशन गर्ने जनाएको थियो । महाधिवेशन गर्नका लागि उसले नेता महन्थ ठाकुराको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । समितिमा केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने निर्णय अध्यक्ष मण्डलको बैठकले गरेको थियो । ठाकुरकै संयोजकत्वमा पदाधिकारी समितिका सदस्य रहने गरी महाधिवेशन तयारी समिति बनाइएको छ । अन्य कुनै समिति बनेका छैनन । यी समितिले पनि महाधिवेशनसम्बन्धी कुनै तयारी नगरेको राजपाका नेताहरुले बताएका छन् ।

‘असारमा आर्थिक वर्षको अन्तिम महिना भएकाले विकास निर्माणका योजना सक्न नेता र जनप्रतिनिधि लागेकाले सदस्यताको ठेली संकलन गर्ने कार्य रोकिएको छ,’ महासचिव झाले भने, ‘साउनको पहिलो–दोस्रो साताबाट संकलन सुरु होला ।’ नौपटकसम्म म्याद थपेर साधारण तथा सक्रिय सदस्यता वितरण र नवीकरण प्रक्रिया १५ जेठमा समापन गरेको थियो ।

राजपा विधानमा दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख थियो । असारमा दुई वर्ष पुगेको छ । पदाधिकारी समितिले त्यसलाई तीन वर्ष बनाएर कात्तिकमा महाधिवेशन गर्ने तय गरेको थियो । यसअघि राजपाले ७–९ वैशाखमा महाधिवेशन गर्ने तय गरेको थियो । राजपाले अहिले समाजवादी पार्टी नेपाल सँग एकता बार्ताको छलफल समेत गरिरहेकोले पनि महाधिवेशन अन्यौलमा पर्न खोजेको पनि नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस