काठमाडौँं । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने भएको छ । भारतले दबाब दिएपछि सरकार पूर्ववत आफ्नै निर्णय परिवर्तन गर्न बाध्य भएको छ ।
सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न सरकारलाई पटकपटक दबाब दिएको थियो ।
भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दबाबपछि आफ्नो निर्णबाट सरकार पछि हटेको हो ।
भारतले दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव मन्त्रीपरिषदमा लगेका थिए । ओलीको प्रस्तावलाई मन्त्रिपरिषदले पास गरेको थियो ।
‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ ?’ एक मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब नमानी सुख हुँदो रहेनछ ।’
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल आउन सुरु गरेको छ ।
गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो, तर भारतले दबाब दिएपछि रोकिएको छ ।
कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, १७ : २४
लेखकबाट थप