बाजुरा भूकम्प : ८ घरमा क्षति, १ सय २३ परिवार जोखिममा

सफल खबर संवाददाता

आइतबार, ०७ पुस २०८१, १३ : १६
बाजुरा भूकम्प : ८ घरमा क्षति, १ सय २३ परिवार जोखिममा

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव  दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नम्बर ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । 

 

 

 

यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए ।

 

 

 

भूकम्पको केन्द्रविन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।सोही विवरणबारे वडा नम्बर ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए । 

वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकिन गर्ने काम भइरहेको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत सङ्कलन भइरहेको जनाइएको छ ।​​

प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस