काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दाबी गरेका छन् ।
देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’
त्यस्ते प्रधानमन्त्री ओलीले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरे । आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भदै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’
त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मस्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गराउने हाम्रो काम रोकिँदैन ।’
कार्यक्रममा उनले सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको दाबी गरे । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको उनले बताए । सरकारलाई सफल हुन नदिन चुनाव नजित्नेहरुले अनावश्यक कुरामा आलोचना गर्दै हिँडेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, १३ : ४०
लेखकबाट थप