२५ लाख बिमा रकमको लोभमा परेर  बुबाले गरे आफ्नै ४ वर्षिया छोरीको हत्या

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०७६, १३ : ३३
२५ लाख बिमा रकमको लोभमा परेर  बुबाले गरे आफ्नै ४ वर्षिया छोरीको हत्या

रौतहट । २५ लाख बिमा रकमको लोभमा परेर एक बुबाले आफ्नै ४ वर्षिया छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि नबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए। लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको रकम हातपार्न  हत्या गरेको रहस्य खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ । 
 

प्रतिक्रिया दिनुहोस