राष्ट्रियसभामा मुसलमान शून्य !

शुक्रबार, १२ माघ २०७४, १९ : १२
राष्ट्रियसभामा मुसलमान शून्य !

फाइल फोटो

काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनःविचार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

थ्रेस होल्डका कारण गत निर्वाचनमा मुसलमान समुदायका प्रतिनिधि निर्वाचित हुन नसकेको र राष्ट्रियसभामा पनि कुनै पनि राजनीतिक दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार नउठाएका कारण उनीहरुको प्रतिनिधित्व राष्ट्रियसभामा शून्य हुने अवस्था आएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रियसभाको कल्पना गर्न नसकिने भन्दै यसमा ठूला तीन राजनीतिक दलले पुनःविचार गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलले कुल्चने काम गरेको आरोप लगाए । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रियसभामा मुसलमानको प्रतिनिधित्व नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपाली कांग्रेसको भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दीनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रियसभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु कांग्रेससहित ठूला राजनीतिक दलको गैरजिम्मेवारपन भएको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस