काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहालले पूर्ण जीवन बाँचेर मृत्युवरण गरेको बताउनु भएको छ । प्रकाश दाहाल फाउण्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रकाश दाहाल ३८ औं जन्मजयन्ती एवं सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘राजनीति, परिवार, प्रेम, विवाह, विदेश भ्रमण सबैको अनुभव लिए । सफलता, असफलता, तितामिठा सबै अनुभव छोटो समयमै बोध गरे’ अध्यक्ष प्रचण्डले छोरा प्रकाशको जीवन सम्झिँदै भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा मलाई सघाएर मेरो कार्यकाल सफल बनाउने काम गरे । सबैभन्दा कठिन काम सगरमाथाको आरोहण पनि गरे । सबैलाई प्रेरणा दिए । निरन्तर देश र जनताको पक्षमा काम गरिराख्ने प्रेरणा प्राप्त भएको छ ।’
बाल्यकालदेखि नै प्रकाशको पढाई प्रभावित भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो भूमिगत जीवनसँगै कहिले कता कहिले कता भए । युद्धमा लिडरसीपको सुरक्षामा चिन्तित हुन्थे । लडाइँमा प्रत्यक्ष संलग्न रहन्थे । छोटो उमेरमै जीवनका विविध अनुभव बोकेर गए प्रकाश । ३६ वर्षको अल्पायुमै निधन भयो प्रकाशको । यसले परिवार, पार्टी र सिंगो देशलाई नै स्तब्ध बनायो ।’
पाँच जना पर्वतारोही सम्मानित
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रकाश दाहाल साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँच जनालाई सम्मानित गर्नुभयो । सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन् ।
प्रतिष्ठानकी अध्यक्ष बीना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०७६, १४ : ३८
लेखकबाट थप