प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गर्न १२ लाखमा खटाइन् ‘कन्ट्याक्ट किलर’

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, ११ : ५४
प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गर्न १२ लाखमा खटाइन् ‘कन्ट्याक्ट किलर’

हत्या भएको चाँगुनारायणस्थित घर(रड उठाइको पहिलो) । तस्विर : भक्तपुर प्रहरी कार्यालय

भक्तपुर । भक्तपुरमा आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ । भक्तपुरको चाँगुनारायण-७ की सावित्रा भट्टराईको हत्यामा उनकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईको हात रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । 

साबित्री भट्टराईको आइतबार दिउँसो घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
 
ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए । ‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ । 

प्रहरीका अनुसार प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्याक्ट किलर ९भाडाका अपराधी० नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ दिएकी थिइन् ।

“आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, थापाले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए । 

प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी-ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस