काठमाडौं । एक समय मलाई निक्कै गाह्रो भएको थियो । मलाई कसैको साथ चाहिएको थियो । मलाई साथ दिने एक जना व्यक्ति भेटेँ । उसले मलाई त्यो गाह्रो अवस्थाबाट हटाएर खुसी नै खुसी दियो । दोस्रो भेटमै उसले मलाई आमासँग परिचय गरायो । यति चाँडो म उसलाई माया गर्न थालेछु कि मलाई यो कुराको महसुसै भएन । बिस्तारै मैले पनि उसलाई आफ्नो परिवारसँग भेट गराएँ । दुवैको परिवारले हामीलाई स्वीकार पनि गरेका थिए ।
शुरु–शुरुमा हामी दैनिक भेट्थ्यौँ । विस्तारै ग्याप मेन्टेन गरेर भेट्ने कुरा भयो । हामी दुवै यसमा सहमत भयौँ र हप्तामा एक चोटी, दुई हप्तामा एक चोटी भेट्ने गर्न थाल्यौँ ।
भेट नभए फोनमा सधैँ कुरा हुन्थ्यो । उसको बिहानीको कलेज थियो । कहिलेकाहीँ म २–३ घण्टा हिँडेर उसलाई भेट्न जान्थेँ । बिहान त्यत्ति पब्लिक बस चल्दैनथ्यो । त्यसैले म हिँडेरै जान्थेँ ।
त्यो बेलासम्म उसले पनि मलाई माया गर्थी तर बिस्तारै उसले मलाई समय नै दिन छाडी । महिनामा एक पटक भेट्न पनि गाह्रो हुन थाल्यो । मैले भेट्ने समय देऊ भन्दा कहिले पढ्नु छ भन्ने, कहिले असाइनमेन्ट छ भ्याइँदैन भन्ने अनेक कारण देखाउन थाली ।
१२ कक्षामा पढिराखेकी थिई ऊ र त्यो बेलाका विद्यार्थीलाई के कस्तो व्यस्तताले च्याप्छ, त्यो त सबैलाई थाहा हुने कुरा भइहाल्यो ।
हप्तामा एक पटक भेट्न कुनै गाह्रो कुरा थिएन तर आफूले बुझेजस्तो अवस्था नहुँदो रहेछ ।
उसलाई पढ्नलाई सजिलो पारिदिन मैले नोट बनाइदिन्थेँ । हुन त म पनि गलत हुनसक्छु तर मलाई यो कुरामा कहिल्यै चित्त बुझेन ।
तिमीसँग समय छैन भने म भेट्न आउँछु भन्दा पनि आउन दिन्न थिई । भन्थी, ‘तिमी यति टाढासम्म आएर दुःख गरेको मलाई मन पर्दैन ।’ उसका लागि यत्ति जाबो दुःख के दुःख थियो र ! प्रायः यस्तै सानातिना विषयमा हाम्रो झगडा पर्ने गथ्र्यो ।
उसले सधैँ भन्ने गर्थी, ‘मेरो समस्या बुझ्ने प्रयास नै गर्दैनौ । खाली भेट्ने मात्र भन्छौ ।’
म उसको हरेक समस्यामा साथमा हुन्थेँ तर मेरो बारेमा उसको साथ खोज्दा मैले के गल्ती गरेँ ? मलाई गाह्रो भएको बेलामा, आफ्ना केही कुरा सेयर गरुँ भन्दा पनि ऊसँग भेट्ने समय मिलाउन कत्ति गाह्रो थियो ।
उसका प्रति मेरो माया साँचो थियो । उसलाई छाडेर टाढा जाने कहिल्यै सोचेको थिइनँ । म त अझै उसैको पर्खाइमा छु ।
हामी दुईबीच सधैँ एउटै कुरामा झगडा पथ्र्यो– तिमीले मलाई बुझेनौ ! मैले पनि उसलाई त्यही भन्थेँ र उसले पनि मलाई त्यही भन्थी ।
यही झगडा बढ्दै जाँदा उसले मलाई छाडी ।
ठीक छ, मैले कुरा बुझिनँ होला तर छोड्नु नै थियो यसरी भने पहिला माया नगरेको भए हुन्नथ्यो र ? माया गरिसकेपछि एकअर्काको समस्या बुझ्ने पो हो त ! हैन र ?
कसैको माया र साथ किन चाहिन्छ ? एकअर्कालाई बुझ्न होइन र ? एकअर्काको भावनात्मक भरथेगका लागि होइन र ?
झन् माया गरेकै व्यक्ति परपर हुन खोज्दा, कत्ति धेरै चित्त दुख्छ भने व्यक्त गरेर साध्य छैन । सबै केटा प्ले ब्वाई हुँदैनन् । उसलाई मेरा साथीदेखि लिएर, मेरो आफन्त र टोलकाले समेत चिन्छन् । यस्तो माया गर्ने साथी पाएँ भनेर म उसप्रति गर्व अनुभव गर्थें ।
खैर, नहुनु पर्ने भइहाल्यो !
एउटा उसैको अभाव चाहिँ महसुस हुन्छ । त्यो खालीपन यत्तिका दिनसम्म पनि भरिएको भने छैन । साथी तिम्रो खुसी अर्कैमा होला तर मेरो खुसी भने तिमीसितै सरेर गएको छ । त्यसैले त्यो खुसीको फिर्ताको पर्खाइमा छु । तिम्रा लागि नै म कुरिरहेको छु । शुक्रबार बाट
वर्ष १९, काठमाडौं
स्राेत : टिनएजर्स कन्फेसन रुम
प्रतिक्रिया दिनुहोस