नेपाली फिल्ममा नातावाद : आफ्ना हिरा अरु झुसिलकीरा

पत्रपत्रिकाबाट

शनिबार, ०७ असार २०७६, २१ : १८
नेपाली फिल्ममा नातावाद : आफ्ना हिरा अरु झुसिलकीरा

अनमोल केसी र नाजिर हुसेन दुवै एकै पुस्ताका कलाकार हुन् । फिल्म क्षेत्रमा दुवैको प्रवेश पनि करिब एक वर्षको अन्तरमा भयो । फरक यत्ति हो, अनमोल स्टार कलाकार भुवन केसीका छोरा हुन्, नाजिर मध्यमाञ्चल विकास क्षेत्रको बारामा जादु देखाउँदै हिँड्ने एक सामान्य जादुगरका छोरा ! 

स्टारका सन्तान जन्मदै स्टार ! सारा संसार उनीहरुको चासो र चिन्ता राख्छ । बच्चैदेखि यस्तै प्रभाव अनमोलमा रहिरह्यो । फिल्ममा ब्रेक पाउन उनले संघर्ष गर्नुपरेन, स्टार सन्तान भएकै कारण फिल्म निर्माता सुनिल रावलले सहजै ब्रेक दिए । यो ६ वर्षअघि फिल्म ‘होस्टेल’को कुरा हो । 

यता रंगमञ्च हुँदै फिल्ममा छिरेका नाजिरलाई फिल्ममा ब्रेक पाउन सहज थिएन । नाटकमा दमदार अभिनय देखाएर वाहवाही पाउँदासमेत उनको हातमा कुनै फिल्मको स्क्रिप्ट आइपुगेन । 

अनमोलले ‘स्टार’को ट्याग पाइसकेपछि मात्र बल्लतल्ल नाजिरले ब्रेक पाए ‘पुन्टे परेड’मा । त्यो पनि एउटा छोटो भूमिकाका लागि । अलि मज्जैले नोटिस हुने भूमिका पाउन उनले थप एक वर्ष कुर्नुपर्यो । ठूलो भूमिकामा अवसर जुर्यो, ‘होस्टेल’कै सिक्वेल दाबी गरिएको ‘होस्टेल रिटन्र्स’मा । 
०००
लगभग एकै समयमा फिल्म क्षेत्रमा देखिएका यी दुई अभिनेताको करिअर ग्राफ हेर्ने हो भने चर्चा र स्टारडमका हिसाबले अनमोल नाजिरभन्दा धेरै अघि बढिसके । अनमोलले आठ वटा फिल्म खेलिसके । अधिकांश फिल्ममा निभाएको चरित्रले उनको भागमा प्रशंसा कम, आलोचना नै ज्यादा प¥यो । समीक्षकले लेखिरहे, ‘यही ताल हो भने अनमोलको फिल्मी यात्रा ओरालो लाग्ने पक्का छ ।’ तर आठ फिल्म खेलिसक्दा पनि उनले पाउने पारिश्रमिक ५० लाख रुपैयाँको दाबी गर्न भ्याइसके । उता नाजिरको पारिश्रमिक १० लाख पनि पुगेको सुनिएको छैन । 

राम्रो कलाकार हुनुको पहिलो सर्त अभिनय नै हुनुपर्ने हो । चर्चा, पारिश्रमिक र स्टारडमका मामिलामा अनमोलभन्दा धेरै पछि रहे पनि नाजिर दर्शक, समीक्षक र फिल्मकर्मी सबैमाझ अघि नै भए । 
हरेक फिल्मपिच्छे समीक्षकले अनमोललाई अभिनय सुधार्न सुझाव दिँदै गर्दा नाजिरले भने तारिफ पाइरहेका थिए । तर विडम्बना, अभिनयमा अब्बल हुँदाहुँदै पनि नाजिर फिल्मी बजारमा अनमोलभन्दा पछि नै छन् । बजारले अनमोललाई ‘सुपरस्टार’का रुपमा प्रचार गरिरहँदा उनी कलाकारिता गरेर टिक्नै संघर्षरत छन् । 

तर करिअर ग्राफमा अनमोल भन्दा नाजिर किन यत्ति तल छन् त ? 
के नाजिरको पृष्ठभूमिमा अनमोल र अनमोलको पृष्ठभूमिमा नाजिरलाई राख्ने हो भने अवस्था यस्तै हुन्थ्यो ?
पक्कै हुँदैनथ्यो ।
अनमोलले नेपाली फिल्म उद्योगमा छोटो समयमै रजगज गर्नुमा पहिलो क्रेडिट अभिनयभन्दा उनको ‘स्टार किड’ पृष्ठभूमि नै काफी रह्यो ।
‘स्टार किड’ भएकैले अनमोलसँग धेरै सुख थिए । 

पहिलो सुख नै, फिल्ममा ब्रेक पाउन निर्माताको कार्यालय धाइरहनु परेन उनले । निर्माता स्क्रिप्ट बोकेर उनको घर धाउँथे । बाहिरी प्रस्ताव नआए निर्माता घरमै थिए ।

नाजिरका हकमा निर्माता–निर्देशक खोज्नुको विकल्प थिएन ।

दोस्रो, बाबु भुवनले पहिल्यै बनाइसकेको मिडिया सर्कलले उनलाई सहजै ‘स्टार’को रुपमा चिनाइदियो । अनमोललाई मिडियाले खोज्थ्यो, नाजिरले मिडियालाई खोज्नुपथ्र्यो । अनमोललाई प्रमोट गर्न समूह नै सक्रिय थियो, नाजिर एक्लै ।

तेस्रो, अभिनय क्षमता जाँच्नु अगाडि फिल्मकर्मी हुन् या रंग सञ्चारकर्मी, भुवनको छोराको मुहारमा ‘स्टार’ कै छवि देखिहाले । 

उता नाजिरको अवस्था यस्तो थिएन । उनी एक्लै थिए । फरक पृष्ठभूमि र फरक रङका कारण उनलाई ब्रेक पाउनसमेत सहज थिएन ।

अभिनय क्षमता हुँदाहुँदै एउटा कलाकार फिल्म क्षेत्रमा कसरी पछि पर्छन् उदाहरण हुन् नाजिर । अनि, कमजोर अभिनय हुँदाहुँदै पनि एउटा कलाकार सम्बन्धका कारण चर्चाको कुन हद छुन सक्छ त्यसको उदाहरण हुन्, अनमोल । दुवैलाई एउटा तराजुमा तौलिँदा सहजै देखिन्छ, नेपाली फिल्म क्षेत्रमा मौलाएको परिवारवादको नमीठो दृश्य ।
००००
यतिखेर अभिनेत्री वर्षा शिवाकोटीको एउटा फेसबुक स्टाटस उल्लेख गर्न उपयुक्त हुन्छ । उनले केही महिनाअघि फेसबुकमा लेखेकी थिइन्, ‘न म स्टार किड, न कसैको गर्लफ्रेन्ड, न हिट ब्यानरको रेगुलर मेम्बर, न कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर । बस्, कामको परिचय बनाउन निरन्तर लागिरा’को विचरा ‘सो कल्ड रिजर्भ आर्टिस्ट । अनि, हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ टाइम ! फिल्मको त के कुरा गर्नु ? हिट एक्टर्स हिट मुभी !’ 

बलिउडमा मौलाउँदो नातावादबारे एक टेलिभिजन कार्यक्रममा भारतीय अभिनेत्री कंगना रनावतले बोल्दा बौद्धिक बहसको प्रारम्भ गरेको थियो ।तर शिवाकोटीको मार्मिक स्टाटसले नेपाली फिल्म क्षेत्रमा रचनात्मक बहसको प्रारम्भसमेत गराउन सकेन ।

बहस नभए पनि उनको यो स्टाटसले नेपाली फिल्म क्षेत्रमा मौलाउँदो नातावाद र त्यसको नकारात्मक असरलाई छर्लङ्गै देखाइदिएको थियो । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस