जन्मजातै हुनसक्छ बच्चामा मुटुरोग

शुक्रबार, ०६ असार २०७६, ०९ : ४३
जन्मजातै हुनसक्छ बच्चामा मुटुरोग

डा.उर्मिला शाक्य,कन्सल्ट्यान्ट पेडियाट्रिक कार्डियोलोजिस्ट सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र
काठमाडौँ । हालका दिनमा मुटुरोग विश्वकै लागि जटिल समस्या बनेको छ । खराब जीवनशैली, अस्वस्थ खानपान, वातावरण प्रदूषण आदि कारणले गर्दा अधिकांश मानिस मुटुसम्बन्धी समस्याबाट पीडित भएको पाइन्छ । पछिल्लो समय बच्चाहरू आमाकै पेटबाट मुटुरोग लिएर आएका हुन्छन् । समय नपुग्दै जन्मिने बच्चामा मुटुरोगको सम्भावना बढी हुने गर्छ । प्रत्येक सयजनामध्ये एकजनालाई जन्मजातैै मुटुरोग लाग्ने गरेको तथ्यांक छ । जन्मजात मुटुरोगको कारण वंशाणुगत र वातावरणीय प्रभावलाई मानिएको छ । तर, करिब १० प्रतिशतमा मात्र रोगको कारण पत्ता लाग्ने गरेको छ ।

कारण
गर्भावस्था

गर्भावस्थाको पहिलो तीन महिनामा हुने विभिन्न भाइरल इन्फेक्सनका कारण बच्चामा मुटुरोग हुने गर्छ । त्यस्तै गर्भावस्थामा विभिन्न औषधिको सेवन, धूम्रपान/मद्यपान, विकिरणको प्रभाव, मधुमेह, उच्च रक्तचाप, शरीरमा फोलिक एसिडको कमी, अत्यधिक मोटोपना तथा पौष्टिक आहारको कमीका कारण बच्चामा जन्मजात मुटुरोग हुन सक्छ ।

वंशाणुगत
यदि आमा बुबा वा परिवारका अन्य सदस्य जन्मजात मुटुरोगी भएमा बच्चामा पनि मुटुरोगको जोखिम हुने गर्छ । 

अन्य 
बच्चाहरू अनौठो रूप लिएर जन्मनु, क्रोमोजोममा गडबडी र डाउन सिन्ड्रोम हुनु आदि पनि जन्मजात मुटुरोगका कारण हुन् । 

किसिम 
–जन्मजात मुटुरोगका धेरै किसिम छन् । यद्यपि, नीलो हुने र  नीलो नहुने आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ । 
–नीलो नहुने रोगमा मुख्यगरी मुटुको कोठा बीचको पर्दामा प्वाल पर्ने, रक्तनली तथा भल्भहरू खुम्चिने हुन्छ । अधिकांशमा मुटुको तल्लो कोठाबीचको पर्दामा प्वाल पर्छ । 
 नीलो हुने रोग जटिल खालका समस्या हुन् । त्यसमध्ये सबैभन्दा बढी देखिने ट्रटालोजी अफ फ्यालोस हो ।

रोकथाम
–गर्भावस्थाको जीवनशैलीले बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले निकै ध्यान पु(याउन आवश्यक छ । उच्चरक्तचाप, मधुमेह र अन्य रोग नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै तनावमुक्त रहने र पौष्टिक आहारमा ध्यान दिन आवश्यक छ ।
–भाइरल इन्फेक्सनबाट बच्न विभिन्न खोप अनिवार्य लगाउनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहविना कुनै     पनि औषधिको सेवन गर्नुहुँदैन ।
 –स्वस्थ जीवनशैली अपनाउने, विकिरणको प्रभावबाट बच्ने र नजिकका नातेदारसँग सकेसम्म  वैवाहिक सम्बन्ध   राख्नुहुँदैन ।
  
 लक्षण

–जन्मजात मुटुरोग भए थोरै प्रतिशत्मा मात्र  रोगको प्रकृति र कडापनका आधारमा लक्षण देखिन्छन् । मुटुमा प्वाल र रक्तनली वा भल्भ खुम्चिएको अवस्था भए बच्चा जन्मेको केही समयदेखि  नै मुटुको चाल अति छिटो ९स्वस्थ बच्चाको तुलनामा० हुन्छ । 
–सास फेर्न गाह्रो हुने, छिट–छिटो सास फेर्ने, राम्रोसँग दुध चुस्न नसक्ने, सुतिरहँदा पनि पसिना आउने, छटपटाउने र शरीरमा निलोपना देखिने जस्ता लक्षण देखिन्छन् । 
–बच्चा अलि ठुलो भएपछि रोगको प्रकृतिअनुसार छिट–छिटो कडा निमोनिया हुने, दैनिक कृयाकलापमा समस्या देखा पर्ने, उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने तथा छातीको दाँया–बाँया भाग माथी उठ्ने जस्ता लक्षण देखिन्छन् । 
–जटिल समस्या भएमा बच्चा हुँदासमेत निलोपना देखिने र कतिपयमा बेहोस समस्या हुने गर्छ । 
 
उपचार

–जन्मजात मुटुरोग साधारण (सानो प्वाल)देखि अति जटिल प्रकृतिका हुने गर्छन् । जसमा सानो प्वाल र समस्यारहित रोगमा विशेष उपचारको आवश्यकता पर्दैन । जुन विकासक्रमसँगै आफैँ निको हुने सम्भावना रहन्छ ।
–जटिल खालका समस्याका लागि औषधि र शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । त्यस्तै मुटुको समस्या भएका बच्चामा निमोनिया, फोक्सोमा इन्फेक्सन, रक्तअल्पताको जोखिम रहने हुँदा विशेष स्याहारको आवश्यकता पर्छ । बच्चामा अन्य समस्या  र कुपोषण हुनबाट बचाउन पौष्टिक आहार खान दिनुपर्छ ।  –नया पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस