काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पूर्नगठन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल चलेको खुलासा गरेका छन् । संसदबाट बजेट पारित भएसँगै मन्त्रिमण्डल पूर्नगठन हुने चर्चा चलिरहेको बेला अध्यक्ष प्रचण्डले कास्की पुगेर आज मनित्रमण्डल पूर्नगठनमा प्रधानमन्त्रीसँग छलफल चलेको खुलासा गरेका हुन् । यद्यपी उनले यस विषयमा कुनै औपचारिक निर्णयमा भने पुगिनसकेको बताए ।
मन्त्रिमण्डल पूर्नगठनको जिम्मा प्रधानमन्त्रीको भएको भन्दै प्रचण्डले प्रधानमन्त्रीलाई नै यसको सम्पूर्ण अधिकार दिइएको बताए । यस विषयमा आफु काठमाडौं फर्केपछि थप गम्भिर छलफल पछि सरकार र पार्टीका विषयमा एउटा सहमतिमा पुग्ने प्रचण्डको भनाई थियो । सरकारको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमा दुई अध्यक्षका बीचमा छलफल भएको भन्दै अध्यक्ष प्रचण्डले अहिले सरकारको नेतृत्व भने परिवर्तन नहुने पनि प्रष्टाए ।
आलोपालो प्रधानमन्त्रीका विषयमा सञ्चारमाध्यमले बड्ग्याएर प्रचार गरेको भन्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व भने तत्काल परिवर्तन नहुने बताए । ‘मैले पार्टी सञ्चालन ,सरकार सञ्चालनका बारेमा भएको सहमतिका बारेमा जे कुरा भने त्यो पहिले नै सार्वजनिक भईसकेको थियो, मैले भनेर भएको जस्तो भनेर प्रचार भएको छ, त्यो होइन,’ प्रचण्डले भने, –‘त्यो मैले बोल्ने भन्दा पनि पहिले नै छापिएर सार्वजनिक भईसकेको छ । यसमा कोही न कोही खेल्न खोजिरहेको छ ।’
उनले ओली नेतृत्वको सरकार पाँच बर्ष नै चल्न सक्ने अभिव्यक्तिलाई बङग्याइएको बताए । ’अहिले हामी छलफलमा नै छौ । पार्टीलाई मिलाउने प्रक्रिया महान हो, यसलाई सफल पार्ने कुरा मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको छ ।’ उनले भने ।
उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता बिपरित जाने छुट कसैलाई नभएको पनि बताए । जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने प्रचण्डले बताए । उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएको जिकिर गरे । पार्टी र सरकार सञ्चालनका लागि भएको सहमति पुरानो भएको भन्दै अहिले नै सरकारको नेतृत्वको संभावना नरहेको उनले बताए ।
त्यस्तै उनले विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको स्पष्ट पारे । फरक प्रसंगमा उनले गुठी बिधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, ’गुठि सम्बन्धित बिधेयकमा नया शिराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरि बिधेयक आउछ ।’ प्रचण्डले बिधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको स्वीकार गरे । उनले भने, ’बिधेयक निर्मणका बेला सरोकारवालाहरु र पार्टी तथा सरकारभित्र पनि संग छलफल र गृहकार्य नभएका कारण विवादमा आएको हो, अन्य बिधेयकहरु पनि संसदीय प्रक्रियाबाटै परिमार्जन र संशोधन भएर अघि आउछ ।’
प्रचण्डले विगतका परिवर्तन मात्रात्मक भएपनि ०६२/०६३ सालको आन्दोलनपछि गुणात्मक परिवर्तन आएको बताए । गुणात्मक संरचनागत परिवर्तन हो, त्यसैले स्वभाविक केही जटिलता आउने प्रचण्डको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०७६, १० : ४३
लेखकबाट थप