पौष्टिक तत्वको कमीले खुट्टा बाउँडिने समस्या

मंगलबार, ०३ असार २०७६, ०९ : ३३
पौष्टिक तत्वको कमीले खुट्टा बाउँडिने समस्या

काठमाडौँ । शरीरका मांसपेशीमा रक्तचापको मात्रा बढ्नु, तापक्रममा घटबढ हुनु वा अन्य रसायनको प्रतिक्रिया भएमा खुट्टा बाउँडिएर दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहमा हुन सक्छ । गर्भवती र महिनावारीको समयमा महिलामा खुट्टा बाँउडिने समस्या अन्य मानिसको बढी हुने गर्छ । मांसपेशी खुम्चनु, हड्डी कमजोर हुनु तथा थकान महसुस गर्नु यसका लक्षण हुन् ।
कारण 
मस्कुलोस्केलेटल पेन 
खुट्टा बाउँडिनुको मुख्य कारण मस्कुलोस्केलेटल पेन अर्थात् मांसपेशी तथा हड्डीमा समस्या आउनु हो । चोटपटक वा अन्य कुनै दुखाइका कारण जोर्नी, लिगामेन्ट आदिमा समस्या उत्पन्न भएमा समेत खुट्टा बाउँडिने समस्या हुने गर्छ । त्यस्तै हिप वा घुँडामा कुनै किसिमको संक्रमण वा क्यान्सर भएमा समेत खुट्टाको मांसपेशी दुख्छन् । त्यसैगरी, शरीरमा भिटामिन डी, मिनरल्स, क्याल्सियम, पोटासियम र म्याग्नेसियमजस्ता तत्वको कमी हुँदा हड्डी कमजोर हुने भएकाले दुख्ने गर्छ ।
भास्कुलर पेन
रगत तथा रक्तनलीमा हुने संक्रमणका कारण खुट्टाको मांसपेशी  दुख्ने हुन्छ । त्यस्तै, इन्फ्लुअसिस ९डिटिटी०, सेल्युलाइटिस, विभिन्न संक्रमण, भाइरस रेजिन, भाइरसोज एक्जिमा आदिका कारणसमेत भास्कुलर सिस्टममा असर पुग्छ । जसले गर्दा राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन । फलस्वरूप खुट्टाको मांसपेशी दुख्ने सम्भावना उच्च रहन्छ । अत्यधिक लागुपदार्थ प्रयोग गर्ने मानिसमा पनि यो समस्या हुन सक्छ । 
न्युरोलोजिकल पेन 
स्नायुतन्तुमा समस्या भएमा मांसपेशीको दुखाइ हुन सक्छ । चोटपटक र दुर्घटनाका कारण नसा च्यापिएमा पछिसम्म असर देखिने हुन्छ । सुरुको समयमा कुनै लक्षण नदेखिए पनि बिस्तारै भित्रको नसामा समस्या अर्थात् न्युरोलोजिकल पेन हुने गर्छ । पछि गएर समय–समयमा खुट्टा बाउँडिने वा दुख्ने हुन्छ । त्यस्तै, क्यान्सर, झाडापखाला, मधुमेह, अत्यधिक मद्यपान, हाइपोथाइराइडिजम आदि कारणले खुट्टा बाउँडिने समस्या हुन्छ ।
उपचार
–गर्भवती अवस्थामा खुट्टा बाउँडिने समस्या धेरै हुने भएकाले यो वेला शरीरलाई आवश्यक सप्लिमेन्ट अर्थात् मिनरल्स, क्याल्सियम, पोटासियम, तथा भिटामिन खुवाउनुपर्छ । त्यस्तै,  बच्चाहरूमा मांसपेशी दुख्ने समस्या भएमा मालिस गर्दा ठीक हुन्छ । तर, यदि लामो समयसम्म रहिरहन्छ भने चिकित्सककहाँ गएर जाँच गराउनुपर्ने हुन्छ । 
–खुट्टा बाउँडिने समस्याको तुरुन्तै मेडिकल उपचार भने हुँदैन । काम गरिरहेको वेलामा मांसपेशी 
 दुखेमा एकछिन काम छोडेर आराम गर्नुपर्छ । 
– खुट्टालाई सीधा राखेर मालिस गर्नुपर्छ । जसले गर्दा रक्तसञ्चार राम्ररी हुन पाउँछ र दुखाइ कम 
  हुन्छ । साथै, खुट्टा तन्काएर बस्नुपर्छ, एकैछिनमा आफैँ ठीक हुन्छ ।
 –शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्व सेवन गर्नुपर्छ । –नया पत्रिकाबाट 
 

प्रतिक्रिया दिनुहोस