जलेपछिको जुझारु जिन्दगी

सोमबार, ०२ असार २०७६, २० : ०७

सृजना खड्का/युवराज भट्टराई

‘आमाले भनेअनुसार त्यो बेला म छ–सात महिनाको थिएँ,’ दोलखाकी सीता भण्डारी (३०) ले भनिन्, ‘घरमा कोही नहुँदा खाटबाट पल्टिएर आगोको नजिक पुगेछु। लगाएको भोटो सल्किएर शरीरको देब्रे भाग पूरै जलेछ।’

उनका अनुसार त्यस दिन आमाबुबा खेतमा गएका थिए। माइली दिदीलाई उनको जिम्मा लगाइएको थियो। ‘मलाई एक्लै छाडेर माइली दिदी पनि खेल्न जानुभएछ,’ उनले भनिन्, ‘आमाबुबा खेतबाट आउँदा म जलिरहेको थिएँ रे। उहाँहरूले आगो निभाएर हत्तपत्त नजिकैको स्वास्थ्य चौकी लैजानुभएछ।’ यति बाहेक त्यस घटनाबारे सीतालाई केही याद छैन। ‘जति थाहा पाएँ अरूले भनेकै सुनेर थाहा पाएँ,’ उनले भनिन्, ‘त्यो घटनामा मैले देब्रे हात गुमाएँ। जलेकै ठाउँमा मेरो हात झरेको थियो रे।’

सुरुवातमा त सबैले उनलाई ‘अब बाँच्दिन’ भनेका थिए। काठमाडौँ अस्पताल लैजाने कि नलैजाने भनेर परिवार अलमलमा थियो।अहिलेजस्तो ३० वर्षअगाडि यातायातको सुविधा पनि थिएन। सम्पूर्ण उपचार स्वास्थ्य चौकीमै भयो।उनको अनुहारमा अहिले पनि देब्रे भागमा केही दाग प्रस्टै देखिन्छन्। हुर्किंदै जाँदा उनलाई लाग्न थाल्यो– ‘म यस्तै जन्मिएँ होला।’ सानैबेलामा जलेकाले साथीभाइबाट उनले खासै नराम्रो व्यवहार भोग्नुपरेन। बुझ्ने हुँदै गएपछि उनी घटनाबारे चासो देखाउन थालिन्। दाग कसरी बस्यो, हात कसरी गुम्यो ? भनेर आमाबुबलाई सोध्न थालिन्। 
हात नभएकाले सजिलो काम उनलाई दिइन्थ्यो।‘अरू दिदीबहिनी जंगल जान्थे, घाँस–दाउराका भारी ल्याउँथे,’ सीताले भनिन्, ‘मलाई पनि उनीहरूको जस्तै काम गर्न मन लाग्थ्यो। तर, चाहेर पनि गर्न सक्दिनथेँ। त्यति बेला हो, मैले आफूलाई फरक पाएको।’ त्यस्तो बेला नरमाइलो लाग्थ्यो उनलाई। कहिलेकाहीँ जबर्जस्ती गर्न नसक्ने काम पनि गर्ने कोसिस गर्थिन्। 

१५ वर्षसम्म उनी दोलखामै हुर्किइन्।आठ कक्षासम्म घर नजिकैको स्कुलमा पढिन्।नौ कक्षा पढ्नलाई टाढा जानुपथ्र्यो। साथीहरूले के भयो, कसरी भयो भन्ने प्रश्न गर्लान् भनेर उनी स्कुलै जान छाडिन्। त्यसपछि काठमाडौँ आइन्। ‘पढ्नभन्दा पनि पैसा कमाउँन यहाँ आएकी थिएँ,’ उनले भनिन्, ‘गाउँमा काम गर्ने अवसर थिएन।’ 

काठमाडौँ आएपछि सीताको संघर्ष सुरु भयो। आफन्तकोमा बस्न थालिन्। पढ्ने मन मरिसकेको थियो।‘मेरो उद्देश्य काम गर्ने र पैसा कमाउने थियो’, उनले भनिन्। काठमाडाँै, तिलगंगास्थित ‘शान्ति सेवा गृह’मा काम खोज्ने सिलसिलामा पुगिन्। त्यहीँ काम गर्न थालिन्। खुला विद्यालयबाट एसएलसी पनि दिइन्। ‘एसएलसीपछि भने पढ्न सकिनँ,’ उनले भनिन्, ‘खेलकुदमा रुचि भएकाले त्यतैतिर लागेँ।’

तेक्वान्दोले बाँच्न सिकायो 

सीताले खेलकुदमा निकै सफलता हात पारेकी छिन्। हाल काठमाडौँ, धापासी बस्ने उनी तेक्वान्दो खेलाडी हुन्। तेक्वान्दो खेल्नका लागि उनी थुप्रै देश पुगेकी छिन्। थुप्रै पदक पनि जितेकी छिन्। ‘काम गर्दागर्दै खेलकुदमा भाग लिन थालेँ,’ उनले भनिन्, ‘तेक्वान्दोमा रुचि थियो।त्यतैतिर लागेँ। खासमा भन्ने हो भने तेक्वान्दोले मलाई बाँच्न सिकायो।’

‘एसियन पारा खेलकुद२०१४’,‘भारत–पाकिस्तान–नेपाल अन्तर्राष्ट्रिय तेकवान्दो प्रतियोगिता’ लगायत अन्तर्राष्ट्रिय र अनगिन्ती राष्ट्रिय प्रतिस्पर्धामा सीताले दर्जनौँ पदक हात पारेकी छिन्। ‘गेम खेल्दा मलाई कहिल्यै आफू अपांग भएको महसुस भएन,’ उनले भनिन्, ‘सधैँ देशको नाम राख्नुपर्छ, जितेर आउनुपर्छ भन्ने सोचले आत्मबल बढायो।’

प्रचलित सौन्दर्य दृष्टिकोणमा सीताको विमति छ। चिटिक्क जीउडाल, गोरो छाला, दाग नभएको सुन्दर अनुहार मात्रैलाई उनी सुन्दरता मान्दिनन्।‘मलाई सौन्दर्यको यस्तो पुरातन मान्यतामा विश्वास छैन,’ उनले भनिन्, ‘शरीर त बोक्रा मात्रै हो। मानिस सुन्दर उसको बुद्धि, विवेक र क्षमताले हुन्छ।’ 

सीताले जीवनमा हजारौँ पटक ‘डढेकी’, ‘जलेकी’, ‘अनुहार नपरेकी’जस्ता शब्द सुन्नुपरेको छ। ‘तर, यस्ता वचनले मेरो जीवनमा कुनै अर्थ राख्दैन,’ उनले भनिन्, ‘जलेपछिको जुझारु जिन्दगी बाँचिरहेकी छु म। शरीर जल्दैमा मानिस सुन्दर नहुने होइन। मलाई त आफू सधैँ अरूभन्दा फरक र झन् सुन्दर भएको महसुस हुन्छ।

लुक्ने होइन, संसारसँग लड्ने हो 

मान्छेहरूले गर्ने अप्रिय टिप्पणीका कारण आगोले जलेका कतिपय महिला घरबाहिर निस्कन चाहदैनन्। शरीर वा अनुहारको दागका कारण उनीहरू कोठाभित्र गुम्सिएर बस्छन्। बाहिर निस्कँदा कटु प्रश्न, कटाक्ष र नजरहरूको सामना गर्नुपर्छ भन्ने लाग्छ उनीहरूलाई। तर, काठमाडौँ, बालाजु बस्ने सुनीता महर्जन (४१)लाई आफ्नो सुन्दरतालाई लिएर तेर्साइने हरेक प्रश्न अर्थहीन लाग्छन्। ‘सुरु–सुरुमा डढेको अनुहार लिएर हिँड्दा निकै अप्ठ्यारो लाग्थ्यो,’ उनले भनिन्, ‘अरूले केही भन्नेबित्तिकै चित्त दुख्थ्यो, नरमाइलो लाग्थ्यो।अनुहार छोपेर हिँड्थेँ। अहिले जसले जे भनेपनि वास्ता गर्दिनँ।’ 

सुनीता २२ वर्षअघि एउटा दुर्घटनामा परिन्। घरमा खाना पकाइरहेकी थिइन्। मट्टितेलले बल्ने स्टोभमा दम दिँदा स्टोभ पड्कियो। उनी बेस्सरी चिच्याइन्। किचेन माथिल्लो तलामा थियो। ‘एक्लै थिएँ,’ उनले भनिन्, ‘म चिच्याएको सुनेर दाइहरू माथि आउनुभयो।शरीरमा आगो दन्किरहेको थियो। उहाँहरूले पानी खन्याएर वीर अस्पताल लैजानुभएछ।’परिवार र आफन्तलाई सुनीता बाँच्ने आशथिएन। अस्पतालले पनि उनको अवस्था हेरेर नबाँच्ने संकेत दियो। ‘धन्न, मेरी दिदीआफैँ नर्स हुनुहुन्थ्यो,’ सुनीताले भनिन्, ‘उहाँ आफैँले जिद्दीगरेर उपचार गर्न थालेपछि मात्रै डाक्टरहरूले चासो देखाएछन्।’ उनी तीन महिना अस्पताल बसिन्। उनको पढाइ छुट्यो।‘हात कलम समाउन नसक्ने भएको थियो,’ उनले भनिन्, ‘चिउँडाको मासु सोहोरिएर अनुहार पनि तल झोल्लिएको थियो। बीबीएस तेस्रो वर्षमै मेरो पढाइरोकियो।’

वीर अस्पतालमा उपचार गराउँदै गर्दा काठमाडाँै, साँखुमा भर्खरै सुषमा कोइराला मेमोरियल हस्पिटल खुलेको थियो। सुनीताकी दिदीले उनलाई त्यहीँ लिएर गइन्। त्यहाँ उनको शरीरको विभिन्न भागको सर्जरी भयो। बिस्तारै हातका औँला चल्न थाले। जलेका अन्य भाग पनि निको हुँदै गयो। ‘घाउ निको हुँदै गएपनि बाहिर निस्किन अप्ठ्यारो लाग्थ्यो,’ उनले भनिन्, ‘अस्पताल जानबाहेक १० वर्षसम्म घरबाहिर निस्किन सकिनँ। अरूले के भन्लान् भन्ने डर थियो।’ 

बुबाको निधनपछि भने सुनीता आफैँलाई केही गर्नुपर्छ भन्ने लाग्यो। ‘बुबा बितेपछि घरको जिम्मेवारी ममाथि आइपर्‍यो,’ उनले भनिन्, ‘सिलाइबुनाइको सीप त थियो, तर काम गर्न जाने ठाउँ थिएन। एकजना दिदीको सल्लाहमा काठमाडौँ, सीतापाइलाको टेलरमा लुगा सिलाउन थालेँ।’ सुरुमा घरबाट काममा जाँदा उनी सधैँ सलले मुख छोप्थिन्। ‘छिमेकीले के भन्लान् भन्ने डरले घरनजिकै काम गर्न सकिनँ,’ उनले भनिन्। 

केही समय सिलाइबुनाइको काम गरेपछि एउटा कम्पनीमा मार्केटिङको काम गर्न थालिन्। ‘आयुर्वेदिक सामानहरू बोकेर गाउँगाउँ डुलेर बिक्री गर्नुपथ्र्यो,’ उनले भनिन्, ‘विभिन्न ठाउँमा सामान बोक्दै चर्को घाममा हिँड्नुपर्ने भएकालेत्यहाँ पनि धेरै समय काम गर्न सकिनँ।’ कामअनुसार कमाइ नभएपछिउनले धेरै ठाउँमा केही समय काम गर्दै छाडिन्।‘सहकारी संस्थामा पैसा उठाउँदै हिँड्ने काम पनि गरेँ,’ उनले भनिन्, ‘त्यसपछि मलाई मान्छेहरूले के भन्लान् भन्ने कुराको पर्बाह हुन छाड्यो। सहकारीमा काम छोडेपछि गार्मेन्ट फ्याक्ट्रीमा फेरि सिलाइ बुनाइ गर्न थालेँ।’

धेरै ठाउँमा काम गर्दा धेरै अनुभव बटुलिन्, सुनीताले। ती खासै मीठा अनुभव थिएनन्। तर, तिनले सुनीतालाई जुझारु बनाए, हिम्मतिलो बनाए। ‘मलाई प्रायःले सामान्य मानिसलाई भन्दा निकै फरक व्यवहार गर्थे,’ उनले ती दिन सम्झिँदै भनिन्,‘कति मान्छे त मलाई देख्नासाथ हाँस्थे। सँगैका साथीहरू मसँग हिँड्न, बोल्न, व्यवहार गर्न खोज्दैनथे।गाडीमा पनिसबैले के–के न भएजसरी हेर्थे।म बसेको सिटमा अरू बस्दैनथे। तर, यस्ता तीता अनुभवले मलाई दुनियाँसँग लड्ने हिम्मत दिए।’

घरपरिवारबाट सुनीताले दरिलो साथ पाइन्। उनको आत्मविश्वास बढ्दै गयो। ‘बिस्तारै सबै कुरा सामान्य लाग्न थाल्यो,’ उनले भनिन्।अहिले सुनिता महाबौद्धको एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्छिन्। बाहिर निस्किएर समाजसँग घुलमिल भएपछि बिस्तारै हिम्मत बढ्दै जाने उनले बताइन्। ‘मैले हिम्मत हारेको भए अहिलेसम्म पनि घरभित्रै हुन्थेँ होला,’ उनले भनिन्, ‘अहिले त्यो १० वर्षत्यसै खेर फालेजस्तो लाग्छ।मैले त्यसो गर्न हुँदैनथ्यो।’ केही लक्ष्य राखेर अगाडि बढ्दा जीवनमा धेरैकुरा हासिल गर्न सकिनेउनको धारणा छ। ‘लुकेर बस्दा पीडामाथि झन् पीडा थपिन्छ,’ सुनीताले भनिन्, ‘बाहिर निस्कनुपर्छ। लुक्ने होइन, संसारसँग लड्ने हो।’  सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस