इमरानले नरेन्द्र मोदीलाई चिठ्ठी लेखेर भने, काश्मिर मुद्दामा वार्ता गरौं

एजेन्सी

शनिबार, २५ जेठ २०७६, १६ : २६
इमरानले नरेन्द्र मोदीलाई चिठ्ठी लेखेर भने, काश्मिर मुद्दामा वार्ता गरौं

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेखेर काश्मिर विवादमा वार्ता गर्न आग्रह गरेका छन् ।
समाचार एजेन्सीले जनाए अनुसार, मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले भनेका छन्( दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।
मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

पुलवामा आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो । पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थितिमा पुगेको थियो ।

यद्यपि एक भारतीय लडाकु विमानलाई पाकिस्तानले जमिनमा खसालेर त्यसका पाइलटलाई समेत नियन्त्रणमा लिएपछि भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान भारतलाई सुम्पिएको थियो ।

त्यसको केही महिनापछि भारतमा लोकसभाको चुनाव भयो र यो चुनावबाट मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भए । त्यसलगत्तै पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाई दिए । तर, मोदीको सपथ ग्रहण समारोहमा भने इमरान खानलाई भारतले निम्तो गरेन ।

प्रतिक्रिया दिनुहोस