जुन ६
सन् १९८४ को जुन ६ मा भारतीय राज्य पञ्जाबको राजधानी अमृतसरमा रहेको शिख धर्मावलम्बीको पवित्र ठाउँ स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेको थियो। त्यतिबेला भारतमा शिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथक्तावादी आन्दोलन उत्कर्षमा पुगेको थियो। शिख अभियन्ताले स्वतन्त्र खालिस्थान हासिल गर्न आतंकवादी गतिविधिको सहारा लिएका थिए।
भारतीय सुरक्षाफौजले अन्यत्र टिक्न नदिने देखेपछि पृथक्तावादीले स्वर्ण मन्दिरलाई किल्ला बनाएर त्यहीँबाट गतिविधि सञ्चालन गर्न थालेका थिए। अन्ततः भारत सरकारले मन्दिरभित्रै पसेर उनीहरूको सफाया गर्ने निधो गर्यो। भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथक्तावादी, ८३ सुरक्षाकर्मी र करिब पाँच सय सर्वसाधारणको मृत्यु भयो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लू स्टार’को नामले चिनिन्छ। सो घटनापछि खालिस्थान आन्दोलन सेलायो।
जुन ७
सन् १९२९ को जुन ७ मा इटालीको राजधानी रोममा रहेको शहर भ्याटिकन सिटीले सार्वभौम र स्वतन्त्र राज्यको दर्जा पायो। इसाई धर्मको प्रतिरक्षा र विस्तारमा चर्चले कुनै समय भ्याटिकन सिटीबाट अभियान छेडेको थियो। त्यतिबेला इसाई आस्थाको प्रतिरक्षा गर्ने अभिभारा रोम साम्राज्यले ग्रहण गरेको थियो।
इतिहासमा इसाई स्वाभिमानका लागि संघर्ष गरेको भ्याटिकन सिटीलाई इसाई राष्ट्र बनाउँदा संसारभरिका इसाई धर्मावलम्बीको आत्मविश्वास उँचो हुन्छ भनेर रोमसहित इसाईबहुल मुलुकहरूको समर्थनमा भ्याटिकन सिटीलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइयो। यद्यपि, भ्याटिकन सिटीको आफ्नै मुद्रा छ, बढी प्रचलनमा चाहिँ युरो छ। शून्य दशमलव ४४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो संसारकै सानो राष्ट्र हो। यसका शासक पोप हुन्।
जुन ८
सन् १९४९ को जुन ८ मा अमेरिकी सरकारले हलिउड फिल्म उद्योगमा धरपकड गरेको थियो। सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएलगत्तै कम्युनिस्ट मुलुक सोभियत संघसँगको अमेरिकाको बढ्दो तनावले शीतयुद्ध आरम्भ भएको थियो। यस्तोमा केही अमेरिकी हलिउडकर्मीले कम्युनिस्ट पार्टीको सदस्य भएर सोभियत संघको पक्षमा लागी अमेरिकाविरोधी काम गरेको भन्दै धरपकड गरिएको थियो। यस क्रममा फ्रेडरिक मार्च, जोन गार्फिल्ड, पउल मुनी र एडवर्र्ड जी रबिन्सनलाई पक्राउ गरिएको थियो। उनीहरूलाई अमेरिकाप्रति बफादार नरहेको आरोप लगाइएको थियो।
जुन ९
सन् १९६४ को जुन ९ मा अमेरिकी गुप्तचर निकाय सीआईएले भियतनाम युद्धबारे अमेरिकी सुरक्षा संयन्त्रमा प्रचलित ‘डोमिनो थिअरी’लाई चुनौती दिने नयाँ प्रतिवेदन पेश गरेको थियो। त्यतिबेला भियतनाम दुई भागमा विभाजित थियो। उत्तर भियतनाम कम्युनिस्ट विद्रोहीको पकडमा थियो भने दक्षिण भियतनाममा अमेरिकाले कठपुतली प्रजातान्त्रिक राज्य स्थापना गरेको थियो। दक्षिण भियतनाममार्फत अमेरिकाले उत्तर भियतनामका कम्युनिस्टविरुद्ध युद्ध सञ्चालन गरेको थियो।
‘डोमिनो थिअरी’ अनुसार दक्षिण भियतनाममा कम्युनिस्ट सत्ता स्थापना भयो भने पूरै दक्षिणपूर्वी एसिया कम्युनिस्टमय बन्छ भन्ने विश्वास गरिन्थ्यो। तर, सीआईएले यस्तो सम्भावनालाई नकार्दै दक्षिण भियतनाम कम्युनिस्ट पकडमा गए कम्बोडियामा मात्रै कम्युनिस्ट सत्ताको उदय हुने नयाँ प्रक्षेपण गर्यो।
जुन १०
सन् १९४० को जुन १० मा विश्वयुद्ध जारी रहेका बेला युरोपेली राष्ट्र नर्वेले नाजी जर्मनीसमक्ष आत्मसमर्पण गर्यो। युद्धका लागि आवश्यक पर्ने धातु, खनिज, पेट्रोलियम पदार्थलगायत सामग्री ओसारपसार गर्ने एउटा महत्त्वपूर्ण नाका नर्वे पनि थियो। त्यतिबेला नर्वेले तटस्थताको नीति अवलम्बन गरेको थियो। तर, नर्वेका रक्षामन्त्री भिड्कुन क्विसलिङले जर्मन तानाशाह हिटलरलाई भेटेर नर्वेमाथि जर्मनीले तत्काल कब्जा नजमाए बेलायतले कब्जा जमाउने र यसले जर्मनीलाई ठूलो धक्का दिने भन्दै उचाले।
बेलायतअगावै जर्मनी आफ्नो मुलुक कब्जा गर्न आए आफूले सहयोग गर्ने वचन दिए। उनको आमन्त्रणलाई स्वीकार गर्दै नाजी जर्मनीले नर्वेमाथि हमला गर्यो। दुई महिनापछि नर्वेले आत्मसमर्पण गर्यो। सोही घटनापछि क्विसलिङ शब्दलाई राष्ट्रघातीको पर्यायका रूपमा युरोपमा प्रयोग गर्न थालियो।
जुन ११
सन् १९६७ को जुन ११ मा पाँच दिन लामो इजरायल–अरब युद्ध समाप्त भयो। त्यसको ठीक पाँच दिन अघि जुन ५ मा इजरायलले एकसाथ तीनटा छिमेकी मुलुक इजिप्ट, सिरिया र जोर्डनमा हमला गरेपछि भड्किएको युद्ध राष्ट्रसंघको मध्यस्थतामा समाप्त भएको थियो। युद्धमा सिरियाको ठूलो भूभागमा इजरायलले कब्जा जमाएको थियो। युद्धबाट सबैभन्दा ठूलो दबाब पनि सिरियाले नै खेपेको थियो।
अन्त्यमा सिरिया र इजरायल दुवैले राष्ट्रसंघको पहलमा आह्वान गरिएको युद्धविरामप्रति सहमति जनाएपछि जुन ११ मा युद्ध औपचारिक रूपमा टुंगियो। वार्तामार्फत युद्ध टुंगिए पनि युद्धमा इजरायल विजयी भएको थियो। युद्धका क्रममा इजरायलले प्यालेस्टाइनको गाजापट्टी र पश्चिम किनार, इजिप्टमातहतको साइनाई प्रायद्वीप, सिरियाको गोलन हाइट्समा कब्जा जमाएको थियो।
जुन १२
सन् १९७५ को जुन १२ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले चार वर्षअघि भएको चुनावमा भ्रष्टाचार गरेको ठहर अदालतले गर्यो। चार वर्षअघि भएको निर्वाचनमा इन्दिरा गान्धीले राज नारायण नाम गरेका उम्मेदवारलाई पराजित गरेर संघीय संसद्मा प्रतिनिधित्व गरेकी थिइन्। ओहोदाको दुरुपयोगलगायत भ्रष्टाचार गरेर गान्धीले आफूलाई पराजित गरेको भन्दै नारायणले निर्वाचन परिणाम उल्टाइपाऊँ भनी इलाहाबाद उच्च अदालतमा मुद्दा दायर गरे।
अन्ततः अदालतले भ्रष्टाचार गरेर÷गराएर गान्धीले चुनाव जितेको फैसला सुनायो। उनले अदालतको फैसलाको सम्मान गर्दै नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरिन्। उल्टै सडकमार्फत आफ्नो राजीनामा माग्ने आन्दोलनकारीको दमन गर्न उनले भारतमा संकटकाल लगाइन्। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस